गृहपृष्ठ खबर बाणगंगामा पाँचौ मेयर कप फुटवल प्रतियोगिता सुरु : वडा नं.१ विजयी

बाणगंगामा पाँचौ मेयर कप फुटवल प्रतियोगिता सुरु : वडा नं.१ विजयी

सागर वि.क., वैखरी अनलाईन ।

कपिलवस्तुको बाणगंगा नगरपालिकामा पाँचौ मेयर कप फुटवल प्रतियोगिता सुरु भएको छ । बुधबार बुद्धरंगशालामा एक भव्य कार्यक्रमकाबीच पाँचौ मेयर कप सुरु भएको हो ।

लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले बाणगंगा नगरपालिकाले विकास समृद्धिसंगै खेल क्षेत्रमा समेत उत्कृष्टता हासिल गरेको बताए । उनले बाणगंगाबाट भविष्यका उर्जावानसंगै क्षमतावान खेलाडीहरु तयार हुदैं गरेको भन्दै खुशी व्यक्त गरे । खेलले खेलाडीहरुको शारीरिक, मानसिक तथा सामाजिक विकाससंगै लागुपदार्थ दुव्र्यशनी जस्ता नकारात्मक पक्षबाट टाढा राख्न समेत महत्वपूर्ण भूमिका खेलेको बताए ।

युवाका लागी खेल अपरिहार्य रहेको भन्दै उनले वडादेखि नगरपालिकाले नै खेल क्षेत्रलाई उच्च प्राथमिकता दिएकोमा उनले धन्यवाद समेत दिए । प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीले मेयर कपले खेलाडीहरुलाई खेलप्रतिको लगावलाई थप वृद्धि गर्न मद्दत पुग्ने बताए । उनले खेल सिपलाई सुधार गर्दै आफ्नो प्रतिभा प्रष्फुटन गर्न खेलाडीलाई आग्रह गरे ।

उनले खेललाई अनुशासित र मर्यादित बनाउन अपिल समेत गरे । नगरप्रमुख चक्रपाणी अर्यालको अध्यक्षता रहेको उक्त कार्यक्रममा उपप्रमुख रिताकुमारी चौधरी, ११ वटै वडाका वडाध्यक्षहरुको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख खिमबहादुर जिसीले गरेका थिए ।

यसैबीच उद्घाटन खेलमा वडा नं.१ ले जित हात पारेको छ । वडा नं.१ ले वडा नं.६ लाई १-० गोल अन्तरले पराजित गरेको हो । पहिलो हाफको अन्त्यतर्फ वडा नं.१ ले पेनाल्टीको अवसर पाएको थियो । उक्त अवसरलाई शेखर पल्ली मगरले गोलमा परिणत गरेको हो । पल्लीको उक्त गोल नै खेलको निर्णायक गोल बन्न पुग्यो । उनी म्यान अफ दि म्याच समेत घोषणा भए ।

भोलि विहिबार २ खेल हुनेछन् । पहिलो खेल वडा नं.७ र ११ बीच हुनेछ भने दोस्रो खेल वडा नं.४ र ८ बीच हुने छ ।

सम्बन्धित् समाचार