गृहपृष्ठ Featured आईपीएल : आज सुरुआतमै चेन्नईविरुद्ध बेंगलुरु

आईपीएल : आज सुरुआतमै चेन्नईविरुद्ध बेंगलुरु

प्रकाशित मिति:

काठमाडौँ  ।

चन्नईविरुद्ध बेंगलुरु । यस सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) को उद्घाटन खेलमा यो जत्तिको आकर्षक खेल अरू कुन हुन सक्छ ? आईपीएलको नयाँ संस्करण शुक्रबार सुरु हुन लागेको हो । पहिलो खेल चेन्नईमा हुनेछ । यो खेल रहनेछ डिफेन्डिङ च्याम्पियन चेन्नई सुपर किंग्सविरुद्ध रोयल च्यालेन्जर्स बेंगलुरु । धोनीले चेन्नईको नेतृत्व छोडे पनि खेलाडीका रूपमा भने सहभागी हुनेछन् ।

कम्तीमा दुई महिनाको अन्तर्राष्ट्रिय क्रिकेट गुमाएका कोहली फेरि एक पटक मैदानमा फर्कंदै छन् । आफ्नो दोस्रो सन्तान जन्मेको समय परेका कारण उनले इंग्ल्यान्डविरुद्धको पाँच टेस्ट सिरिज खेलेका थिएनन् । धोनी आफैं पनि १० महिनापछि मैदान फर्किन लागेका हुन् । गत वर्ष चेन्नईलाई कीर्तिमान बराबरी हुने पाँचौं उपाधि दिलाएपछि उनले यो सिजनमा संन्यास लिने संकेत गरेका थिए ।

रोयल च्यालेन्जर्सका कप्तान फाफ डु प्लेसिसले धोनीको खुलेर प्रशंसा गरेका छन् । उनले भनेका छन्, ‘धोनी महान् कप्तान हुन् । मैले उनको नेतृत्वमा केही समय खेल्ने अवसर पाएको थिएँ । चेन्नईमा बिताएको केही समय मेरो खेलजीवनकै लागि निकै महत्त्वपूर्ण छ । नेतृत्व कसरी गर्नुपर्छ, मैले त्यही बेला सिकेको थिएँ, त्यो पनि धोनीलाई हेरेर । उनीबाट म निकै प्रभावित छु ।’ रोयल च्यालेन्जर्सले अहिलेसम्म आईपीएल जितेको छैन तर तीनपल्ट उपविजेता भएको छ । सम्भवतः बेंगलुरु टिम आफ्ना महिला खेलाडीबाट प्रभावित रहनेछ ।

आइतबार मात्रै बेंगलुरुको महिला टिम वुमन्स आईपीएलको च्याम्पियन बनेको थियो र यसक्रममा उपाधिको खडेरी तोडिएको थियो । अहिलेका भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले भने मुम्बई इन्डियन्सको नेतृत्वको जिम्मेवारी हार्दिक पान्ड्येलाई दिएका छन् । मुम्बई पनि पाँचपल्टको विजेता हो । सन् २०२२ मा गुजरात टाइटन्सबाट खेलेका हार्दिकले त्यही वर्ष आफ्नो टिमलाई उपाधि दिलाए । पछिल्लो सिजन भने गुजरात उपविजेता रह्यो ।

यसपल्ट उनी मुम्बई फर्केका छन् । मुम्बईले जतिपल्ट आईपीएलको उपाधि जितेको छ, सबैमा कप्तान शर्मा नै थिए । मुम्बईमा ११ वर्षयता पहिलो पटक नेतृत्व परिवर्तन भएको छ । हार्दिकको स्थानमा अब गुजरातको नेतृत्व शुभमन गिलले सम्हाल्नेछन् । अर्कोतर्फ ऋषभ पन्तलाई फेरि माथिल्लो स्तरको क्रिकेट खेल्न सक्षम भएको घोषणा गरिएको छ । सन् २०२२ को अन्त्यमा गाडी दुर्घटनामा परेयता उनले क्रिकेट खेलेका छैनन् ।

राजस्थान रोयल्सको इनिङ्स सुरुआत गर्ने जिम्मा जस बटलरसँगै २२ वर्षीय यशस्वी जयसवालको काँधमा हुनेछ । जयसवालले इंग्ल्यान्डविरुद्धको टेस्ट सिरिजमा कीर्तिमान ७ सय १२ रन बनाएका थिए । गत डिसेम्बरमा भएको खेलाडी लिलामीमा अस्ट्रेलियाली बलरद्वय मिचेल स्टार्क र प्याट कमिन्स सबैभन्दा महँगा खेलाडी साबित भएका थिए । सन् २०१५ यता स्टार्क पहिलो पटक आईपीएल खेल्दै छन् । त्यतिबेला भने उनले रोयल च्यालेन्जर्स टिमका लागि खेलेका थिए ।

सम्बन्धित् समाचार