गृहपृष्ठ Featured गुल्मीमा घट्यो चैते धान रोपाइँको क्षेत्रफल

गुल्मीमा घट्यो चैते धान रोपाइँको क्षेत्रफल

गुल्मी । 

गुल्मीका विभिन्न फाँटका किसानलाई यतिबेला चैते धान रोप्न भ्याइनभाइ छ। चैत महिना सुरु भएलगत्तै जिल्लाका किसान खेतमा बाली गाउँदै, हिलो खेल्दै धान रोप्नमै व्यस्त भेटिन्छन्। यहाँका किसानले चैते र वर्षे गरी वर्षमा दुई पटक धान खेती गर्दै आएका छन्। चैतको पहिलो सातादेखि रोप्न सुरु गरेको धान यो महिनाभर रोप्ने प्रचलन छ।

असार महिनामा पाकेको धान भित्राएर पुन वर्षे धान रोप्ने परम्परा जिल्लामा विगतदेखि चलि आएको छ। यहाँका किसानले हंशराज, आपझोते, झोप्री, काठे, झिनुवा, सानो भट्टे, ठूलो भट्टे, कोदे, बडियारे, लहरेबडियारे, थापचिनी, गुडुरो, ढल्लोई,  पाखे धान, रातो मार्सी धान, मार्सी नामको धान रोप्ने गर्दछन्। चैते धानको रुपमा स्थानीय मार्सी, सिएच ४५, चैते ५, हर्दिनाथ १ प्रजातिको बिउ रोप्ने रोपिन्छ‍।

जिल्लाका अर्वेनी, कनौटा, छापचौर, लिम्घा, अस्लेवा, ज्वाङखैरेनी, साहाघाट, च्यामी फाँट, मजुवा, रुपाकोट, शान्तिपुर तलाफाँट इन्द्रेगौडा भुवाचिदि वामीटक्सार पौदी अरेवा भर्माचौर लगायत बडिघाट खोलाको आसपासका क्षेत्र, मालिका गाउँपालिकाको सिमलटारी, फूलबारी, सिर्सेनीको अग्लुङफेदी, पनाहाखोला र छल्दीको आसपासका क्षेत्र, चौरासीफाँट, हुलाके, घोडाहाफाँट, टारीफाँट, खर्जेङ, बोआफाँट, टाहाटिम, घिउबेसी, छम्दी, आसपासको क्षेत्रमा चैते धान खेती हुँदै आएको छ।

पछिल्लो तीन वर्षयता गुल्मीमा चैते धान रोपाइँको क्षेत्रफल घट्दै गएको सरकारी तथ्याङ्कले देखाएको छ। आर्थिक वर्ष ०७७/०७८ मा ३ सय ५२ हेक्टर क्षेत्रफलमा चैते धान खेती गरिन्थ्यो। तर,गत आर्थिक वर्ष ०७९/८० मा आइपुग्दा रोपाइँ क्षेत्रफल घटेर ३ सय ४१ हेक्टर क्षेत्रफलमा धान खेती भइरहेको छ।

यस वर्षमा ३ सय १९ हेक्टर क्षेत्रफलमा चैते धान खेती हुने कृषि ज्ञान केन्द्रले प्रक्षेपण गरेको छ। पछिल्लो समय बढ्दो सहरमा बसाइँसराइ, ग्रामीण क्षेत्रमा उत्पादन गर्ने जनशक्तिको कमि हुँदा बर्सेनि रोपाइँको क्षेत्रफल घट्दै गएको कार्यालय प्रमुख नवराज भण्डारीले बताए। हिउँदमा वर्षा पनि कम हुने भएकाले धानको खेतीमा गर्न थप समस्या बढ्दै गएको उनले बताए।

सम्बन्धित् समाचार