दाङ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीले स्वास्थ्य बिमाको रकम शोधभर्ना नपाउँदा उपचारमा समस्या भएको छ । स्वास्थ्य बीमा बोर्डले १० करोड ५० लाख रुपैयाँ भुक्तानी नदिएका कारण उपचार खर्च व्यवस्थापन गर्न समस्या भएको प्रतिष्ठानको भनाइ छ । आर्थिक अभावका कारण औषधि र अन्य आवश्यक सामग्री खरिद गर्न समस्या भैरहेको प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले बताए ।
अब बिमा अन्तरगतको उपचार रोक्ने मनस्थितीमा पुगेको उनले बताए । ‘बिमा बोर्डले लामो समयसम्म रकम भुक्तानी नगर्दा आर्थिक संकट बढ्दै गएको छ । अब आवश्यक स्वास्थ्य सामग्री किन्ने रकम छैन,’ उनले भने,‘अब सर्वपक्षीय बैठक बोलाएर बिमाको उपचार रोक्ने मनस्थितीमा पुगका छौं ।’
बिमाबाट औषधि मात्रै नभएर ल्याब र अप्रेशन सेवा समेत दिनुपरेकाले खर्च धान्न कठिन भैरहेको लामिछानेले बताए । ‘३० प्रतिशत बिरामी बिमाका छन् । दैनिक ७ सय बिरामीले सेवा लिने गरेकोमा २ सय बढी बिमा अन्तरगतका हुन्छन्,’ उनले भने,‘बिमाबाट अप्रेशन, आइसियूलगायत धेरै खर्च हुने उपचार समेत भएका छन् । लामो समय शोधभर्ना नहुँदा उपचार गर्न नसकिने अवस्था आइसक्यो ।’
आर्थिक अभावकै कारण औषधि र स्वास्थ्य सामग्री सप्लायर्सले भुक्तानी पाउन नसकेको उनले बताए । जसका कारण सप्लायर्सहरुले सामग्री दिन बन्द गर्ने चेतावनी दिइसकेको उनले बताए । ‘मृगौलाको डायलाइसिस जस्ता सामान आपूर्ति बन्द भए के गर्ने ?,’ उनले भने,‘सामान पाइएन भने कसरी गर्ने ? बिरामीको ज्यान जान सक्छ ।’
बिमा बोर्डलाई प्रतिष्ठानको समस्या र औषधि सप्लायर्सले दिएको चेतावनीको जानकारीसहित पत्राचार गर्दा पनि रकम भुक्तानीमा गम्भिरता नभएको लामिछानेले बताए ।








