बुटवल ।
लुम्बिनी प्रदेशमा दोस्रो प्रदेशसभा निर्वाचनपछि तेस्रो मुख्यमन्त्रीको रूपमा माओवादी संसदीय दलका नेता जोख बहादुर महरा नियुक्त भएका छन् ।
एमालेका लीला गिरीको नेतृत्वमा बनेको सरकारमा झन्डै तीन महिना अर्थमन्त्री बनेको महराले १ वर्षपछि मुख्यमन्त्रीको कुर्चीमा बस्ने अवसर पाएका हुन् । रोल्पाबाट निर्वाचित महरालाई शुक्रबार प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । उनले आइतबार दिउँसो पद तथा गोपनीयताको शपथ लिनेछन् ।
महराले लीला गिरीको सरकारबाट गत वर्षको चैत ११ गते केन्द्रीय समीकरण परिवर्तनपछि राजीनामा दिएका थिए । निर्वाचनपछि अर्थमन्त्री बन्दा समर्थन पाएका दलहरूकै आडमा उनी मुख्यमन्त्री बन्न सफल भएका हुन् ।
पछिल्लो ६ वर्षको अवधिमा लुम्बिनी प्रदेशले पाँचौँ मुख्यमन्त्रीको रूपमा महरा सरकार पाएको हो। सङ्घीय सत्ता समीरणसँगै नेपाली काँग्रेस मुख्यमन्त्री डिल्ली बहादुर चौधरी अल्पमतमा परेपछि राजीनामा दिए । त्यसपछि शुक्रबार नागरिक उन्मुक्ति पार्टी सहित ५ दलका ४८ जना सांसदको हस्ताक्षरमा महराले लुम्बिनी प्रदेश सरकारको नेतृत्व अवसर पाएका हुन्।
उनले सत्ता गठबन्धनको सहमति अनुसार नै छिटै मन्त्रीमण्डल विस्तार गर्ने छन्। लुम्बिनी प्रदेशमा २०७४को फागुन ३ गते प्रदेशको पहिलो मुख्यमन्त्रीमा शङ्कर पोखरेल नियुक्त भएका थिए । एमाले र माओवादी एकीकृत भई नेकपा बनेको बेलामा पोखरेलको सरकार पार्टी विभाजनसँगै २०७८ साउन २७ गतेसम्म ढलेको थियो । त्यसलगत्तै साउन २८ गते काँग्रेसको समर्थनमा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी मुख्यमन्त्री नियुक्त भएका थिए।