किमाथाङ्का ।
सङ्खुवासभाको किमाथाङ्का सहित चीनसँग जोडिएका १४ वटै नाका शनिबारदेखि पुनः सञ्चालनमा आएका छन्। कोरोना सङ्क्रमण फैलिने डरले चीन सरकारले २०७६ माघ ५ गतेदेखि विभिन्न नाका बन्द गरेको थियो।
उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ र चीनको स्वशासित क्षेत्र तिब्वतका उपाध्यक्ष सिलाम निमाले चीनको छेन्ताङमा आज आयोजित एक समारोहबीच किमाथाङ्का सहित नेपाल–चीन सीमामा रहेका १४ वटै नाका पुनः सञ्चालनमा आएको संयुक्त रूपमा घोषणा गरे।
नाका सञ्चालनको घोषणा कार्यक्रममा चीनको छेन्ताङ पुगेर फर्किने क्रममा सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री श्रेष्ठले परम्परागत नाका सञ्चालनमा आएको औपचारिक रूपमा घोषणा गरिएको बताए।
उपप्रधानमन्त्री श्रेष्ठका अनुसार सात नाका आजैदेखि सञ्चालनमा आएका छन् भने अन्य सात नाका चाँडै खुला हुनेछन्। नेपाल सरकारको निरन्तरको कूटनीतिक प्रयासपछि किमाथाङ्का सहित १४ वटा व्यापारिक नाका खुलाउन सफल भएको उनले बताए।
गत वर्ष चैतमा जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका अवसरमा नेपाल–चीन सीमा क्षेत्रमा रहेका सम्पूर्ण परम्परागत व्यापार नाका क्रमशः खुलाउने समझदारी भएअनुसार नै नाका पुनः सञ्चालन गरिएको उपप्रधानमन्त्री श्रेष्ठले बताए।
उद्घाटन समारोहमा भाग लिन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, गृह र परराष्ट्र मन्त्रालयका सहसचिव, प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुख लगायत उच्चपदस्थ अधिकारी सहभागी प्रतिनिधिमण्डल चीनको छेन्ताङ पुगेको थियो।








