रुपन्देही ।
निर्माण सम्पन्न भएर लामो समय व्यवसायीको विवादमा रहेको बुटवलको आधुनिक पशु बधशाला सञ्चालनमा आएको छ ।
यद्यपि यसमा पहिले असन्तुष्ट भएका सबै व्यवसायीहरु सहमत भएका छैनन् । बुटवल १० धागो कारखानानजिकै दुई बिघा ३ कठ्ठा क्षेत्रफलमा बनेको बधशालामा उपकरणहरु जडान गरी परीक्षण गरेपश्चात् बिहीबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको हो । बधशालासँगै सुख्खानगर र होराइजन चोकनजिकै दुईवटा मासु बिक्री कक्ष उद्घाटन गरिएको छ ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले मासु बिक्री कक्षको शुभारम्भ गर्दै बुटवल र आसपासका जिल्लाहरुमा समेत सेवा दिन सक्ने गरी बधशाला निर्माण भएको बताए । उनले बुटवलमा सञ्चालन भएको पशु बधशालामा दैनिक १ हजार खसीबोका बध गर्नसक्ने क्षमता रहेकाले अन्य जिल्लाहरुलाई सहज रुपमा सेवा दिन सक्ने बताए ।
स्वस्थ मासु र स्वच्छ मासु उपभोगका लागि बधशालामा खसीबोकाको स्वास्थ्य परीक्षण गरी आधुनिक प्रविधिमार्फत बध गरी प्याकेजिङ गरेको मासु उपलब्ध हुने भएकाले उपभोक्ताले विशेष ध्यान दिन जरुरी रहेको उनले बताए ।








