गृहपृष्ठ कपिलवस्तु बिशेष सरकारी तलब खानेले अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने कांग्रेसको माग

सरकारी तलब खानेले अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने कांग्रेसको माग

प्रकाशित मिति:

सागर वि.क., वैखरी अनलाईन ।

नेपाली काँग्रेस बाणगंगा नगर कार्यसमितिले विभिन्न ३ बुँदे मागसहित बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्याललाई ध्यानाकर्षण पत्र बुझाएको छ । उक्त ध्यानाकर्षण पत्र विहिबार नगरप्रमुख अर्यालकै कार्यकक्षमा नगरसभापति विष्णु थापासहितका नेताहरु उपस्थितिमा बुझाईएको हो ।

उक्त पत्रमार्फत राज्यकोषबाट सेवा सुविधा लिने व्यक्तिहरुले आफ्ना बालबालिका अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गरि पढाउनुपर्ने नितिगत व्यवस्था बनाई लागु गर्न माग गरिएको छ । अविलम्ब यस नगर क्षेत्रभित्र राज्यकोषबाट सेवा सुविधा लिने सम्पूर्ण शिक्षक, कर्मचारी एवं जनप्रतिनिधिले आफ्ना परिवारका बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा भर्ना गरि पढाउनुपर्ने नितिगत व्यवस्था बनाउनुपर्ने नेपाली कांग्रेसको माग छ ।

 

वर्तमान परिप्रेक्षमा यस नगर क्षेत्रभित्र देखिएका र उठेका विभिन्न प्राविधिक तथा नितिगत विषयस्तुलाई सुधार गर्नका लागि नेपाली काँग्रेस बाणगंगा नगर समितिको यही असार २५ गते बसेको बैठकको निर्णयानुसार नगरपालिकालाई ध्यानाकर्षण गराईएको नेपाली कांग्रेस बाणगंगाका सभापति विष्णु थापाले बताए ।

‘राष्ट्र निर्माणको बलियो प्रथम आधार शिक्षा हो । यसका लागि राज्यबाट निरन्तर प्रयास र लगानी नभएका होइनन् । यद्मपी आवश्यक मात्रामा नभएको भने विदितै छ । राज्यको निति अनुरुप नै शिक्षालाई प्राथमिकिकरण गरी यसको गुणस्तर सुधार गर्नु हामी सवैको दायित्व हो । गुणस्तरीय शिक्षाका लागि बहुपक्षिय आयाम आवश्यक भएता पनि सुरुवात आफैबाट गर्नु पहिलो प्रयास हो । तसर्थ सामुदायिक शिक्षा सुधारका लागि जिम्मेवार व्यक्तित्व, सामाजिक अभियन्ता एवं राज्यकोषबाट सेवा सुविधा लिएका व्यक्तिहरु सवैभन्दा बढि जिम्मेवार हुनुपर्ने आमजनताको आवाज र माग हो । यसका लागि अविलम्ब यस नगर क्षेत्रभित्र राज्यकोषबाट सेवा सुविधा लिने सम्पूर्ण शिक्षक, कर्मचारी एवं जनप्रतिनिधीले आफ्ना परिवारका बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा भर्ना गरि पढाउनुपर्ने नितिगत व्यवस्था बनाई लागु गरियोस् ।’ उक्त ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

सोही विषयलाई जोड दिदैं कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष समेत रहेका सिद्धार्थ मावि बुङ्गचीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश बहादुर क्षेत्रीले तत्काल बाणगगामा विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहितका पदाधिकारी, शिक्षक, कर्मचारी एवं जनप्रतिनिधीले अनिवार्य सामुदायिक विद्यालयमा भर्ना गरि पढाउनुपर्ने प्रावधान निर्माण गर्न आवश्यक रहेको बताएका थिए । उनले आफुले आफ्ना छोरोछोरीलाई सामुदायिक विद्यालयमा पढाएर त्यसको थालनी समेत गरेको बताए ।

यस्तै सो पत्रमार्फत बाणगंगा नगरपालिका ८ स्थित जनसेवा आधारभुत विद्यालयको निमित्त प्र.अ. सम्वन्धमा वाणगंगा नगरपालिका शिक्षा समितिले सम्मानित अदालतको अपहेलना हुने गरि गरेको निर्णय तत्काल परिवर्तन गरि शिक्षा नियमावली अनुसारको प्र.अ. नियुक्तिका लागि तत्काल सहजीकरण गर्न माग गरिएको छ । साथै कांग्रेसले सो विद्यालयका शिक्षक राजेन्द्र खनालले लामो समयदेखि तलब भत्ता नपाएकाले तत्काल तलब भत्ता निकासाका लागि जोडदार माग गरेको छ ।

यस्तै नगरको शिक्षालाई बदलिदो समय र आवश्यकता अनुसार गुणस्तरीय बनाउनका लागि शिक्षा क्षेत्रलाई प्राथमिकिकरण गर्दै शिक्षामा लगानी वृद्धि, विद्यार्थी संख्याको आधारमा शिक्षक दरबन्दीको व्यवस्थापन, आवश्यकताका आधारमा समान अनुदान वितरण, शिक्षक तालिम, प्रविधिमैत्री कक्षाकोठा लगायतका कार्यक्रमहरु सञ्चालन गर्न र विभिन्न बाहनामा विद्यालयहरुलाई दिने अनुदानमा विभेदको अन्त्य गर्न समेत माग गरिएको छ ।

आफुहरुका माग अविलम्ब सम्वोधन नभएमा त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार नगरपालिका स्वयं हुने उक्त पत्रमार्फत नेपाली कांग्रेस बाणगंगाले चेतावनी दिएको छ ।

यस्तो छ ध्यानाकर्षण पत्र

नगरप्रमुख अर्यालले माग गरिएका ३ वटै बुँदाबारे आफु सहमत रहेको भन्दै सामुदायिक विद्यालयमा भर्ना गरि पढाउनेलाई प्रोत्साहन गरिने बताए । उनले राज्यकोषबाट सेवा सुविधा लिने सम्पूर्ण शिक्षक, कर्मचारी एवं जनप्रतिनिधीले आफ्ना परिवारका बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा भर्ना गरि पढाउनुपर्ने नितिगत व्यवस्था गर्न आवश्यक परामर्शसहित अघि बढ्ने बताए ।

उनले जनसेवा आधारभुत विद्यालयको समस्याबारे आफुहरु लामो समयदेखि जानकार रहेको भन्दै उक्त समस्याप्रति गम्भिर रहेको बताए । अबको केही दिनभित्रै उपयुक्त प्रक्रिया अवलम्बन गर्दै उक्त समस्या गर्ने गरि आफु लाग्ने उनले प्रतिवद्धता जनाए ।

सो क्रममा बोल्ने नेताहरुले कांग्रेसले उठाएका मागहरु विना राजनितिकरण तत्काल सम्बोधन गर्नुपर्नेमा जोडदार माग गरेका थिए ।

कार्यक्रममा उपप्रमुख रिता कुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनी, नगर प्रवक्ता विष्णु प्रसाद पौडेल, वडा नं.७ का वडाध्यक्ष विष्णु गिरीसहित नेपाली कांग्रेसका जिल्ला नेताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

सम्बन्धित् समाचार