काठमाडौं ।
नेपालका प्रिन्स दाहाल पेरिस ओलम्पिक-२०२४ को ब्याडमिन्टनमा आइतबार पराजित भएका छन् ।
फ्रान्सको पेरिसस्थित ला चापेला एरिनाको कोर्ट नम्बर ३ मा भएको समूह ‘पी’ को आफ्नो पहिलो खेलमा विश्व वरीयताको दोस्रो स्थानमा रहेका डेनमार्क भिक्टर एक्सेल्सेनले विश्व वरीयतामा १७२ औं स्थानमा रहेका प्रिन्सलाई २-० को सोझो सेटमा पराजित गरे ।
कठिन समूहमा रहेका प्रिन्सलाई भिक्टरले २१-८ र २१-६ ले हराए । प्रिन्सको समूहमा उनी र भिक्टरसहित ४ खेलाडी छन् । प्रिन्सले जुलाइ २९ तारिखमा आयरल्यान्डका निहात गुयेन तथा जुलाइ ३१ मा इजरायलका मिसा जिल्बरम्यानसंग खेल्ने छन् । विश्व वरीयतामा निहात ४३ औं तथा मिसा ५८ औं स्थानमा छन् ।
नेपालमा भएको १३औं सागमा २ कांस्य पदक जितेका राष्ट्रिय च्याम्पियन प्रिन्स पूर्वजुनियर विश्व नम्बर वान खेलाडी हुन् ।