रुपन्देही ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशको समृद्धिका लागि अल्पकालीन र दीर्घकालीन योजना बनाएर काम गर्ने जनाएका छन् ।
‘मैले सम्मानमा खादामाला रोक लगाएको छ, सचिवालयमा परिवारका कुनै पनि सदस्य राख्नेछैन, ५ लाखभन्दा बढीका योजनालाई अनिवार्य रूपमा प्रतिस्पर्धाबाट अगाडि बढाउने निर्णय नै गराएको छु’ उनले भने, ‘भ्रष्टाचार न्यूनीकरण गर्ने ५ वर्षको रणनीति बनाउने पहिलो निर्णयलाई कार्यान्वयन गर्ने पहिलो निर्णयलाई सधैँ प्राथमिकतामा राख्नेछु, यो मेरो सार्वजनिक प्रतिबद्धता हो ।’
मतदाता र आम प्रदेशवासीलाई आफूले गरेको प्रतिबद्धता नबिर्सने बताउँदै उनले भने–‘१३ वर्षअघि जटिल रोग लागेर मृत्युको नजिक पुगेको हुँ, सबैको शुभेच्छाले निको भएँ, मृत्युलाई समेत परास्त गरेर सबैको हौसलाले यहाँसम्म आएको अवस्था भएकोले पनि गलत गर्ने छुट छैन, मेरो पुनर्जीवन भएकाले पनि केही नयाँ गरेर देखाउनु छ ।’
मुख्यमन्त्री आचार्यले यसअघि तीन पटक मन्त्रालयमा गरेको अनुभवले पनि काम गर्ने आधारभूत विषय बुझेकाले काम गर्न सहज हुने बताउँदै पार्टीको मूल्यांकनका आधारमा पाएको यो जिम्मेवारीबाट सिंगो प्रदेशको समृद्धिका लागि सबैसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाए ।








