साफ महिला च्याम्पियनसिप प्रतियोगितामा बंगलादेशले भारतलाई पराजित गरेको छ । दशरथ रंगशालामा बुधबार भएको खेलमा बंगलादेशले भारतमाथि ३–१ गोलअन्तरको जित हात पारेको हो ।
साविक विजेता बंगलादेशले यसअघिको संस्करणमा पनि दशरथ रंगशालामै भारतमाथि ३–० गोलअन्तरको जित निकालेको थियो । बंगलादेशको जितमा गोलकिपर रुपना चक्माले उत्कृष्ट प्रदर्शन गरिन् भने तोहुरा खातुनले दुई गोल गरिन् । यस्तै अफिदा खाँडकरले एक गोल गरिन् । भारतका लागि बालदेवीले सान्त्वना गोल गरिन् ।
भारतलाई पराजित गरेसँगै बंगलादेश समूह एबाट विजेता भन्दै सेमिफाइनलमा पुगेको छ । भारत भने हारपछि पनि उपविजेता बन्दै सेमिफाइनल पुगेको छ । बंगलादेशले दुई खेलबाट चार अंक पुर्यायो । भारत समान खेलबाट तीन अंकसहित अन्तिम चारमा प्रवेश गर्दा पाकिस्तान भने बाहिरिएको छ । पाकिस्तानले बंगलादेशलाई १–१ गोलको बराबरीमा रोकेको थियो। तर, भारतसँग भने ५–२ ले पराजित भएको थियो ।
भारतले सुरुवाती समयदेखि नै बंगलादेशलाई दबाबमा राख्ने प्रयास गरेको थियो । तर, खेलको १९औँ मिनेटमा बंगलादेशले अग्रता लियो । राम्रोसँग क्लियर हुन नसकेको बललाई अफिदाले गरेको प्रहार टप कर्नरबाट गोलमा परिणत भयो । ३०औँ मिनेटमा बंगलादेशका लागि तोहुराले दोस्रो गोल गरिन् । उनले नै ४२औँ मिनेटमा तेस्रो गोल गर्दै बंगलादेशको जित लगभग पक्का गरिन् । त्यसलगत्तै बालादेवीले भारतका लागि गोल गरिन् । तर, दोस्रो हाफमा दुवै टिमबाट गोल हुन सकेन र बंगलादेशले जितसहित सेमिफाइनल यात्रा पक्का गर्यो ।








