सागर वि.क., वैखरी अनलाईन ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाले सडक अतिक्रमण गरेर राखिएका संरचना हटाउन सुरु गरेको छ । विहिबार बाणगंगा नगरपालिकाको मुख्य बजार क्षेत्र चारनम्बरमा उपप्रमख रिता कुमारी चौधरीको नेतृत्वमा त्यस्ता संरचना हटाउन सुरु गरिएको हो ।

सो क्रममा विभिन्न पसलहरुको अगाडि राखिएका बोर्ड, छाप्रो तथा सडकमा राखिएका ठेलाहरु जफत गरिएको छ । दलबलसहित खटिएको जम्बो टोलीले अब यस कार्यलाई निरन्तरता दिने जनाएको छ ।
उपप्रमुख चौधरीले आफुहरुले चुनाव जितेर आए लगत्तै सडक अतिक्रमणलाई हटाउन खोजेको बताउँदै भनिन्, ‘विगतमा विभिन्न कारणले हटाउन सकिएको थिएन्, पटकपटक सुचना जारी गर्दा पनि बेवास्ता गरियो । अटेर नै गरेपछि यसरी हटाउन बाध्य भयौं ।’
उनले सडक अतिक्रमण हटाउने कार्य एकदिनलाई मात्र नभएर यसलाई निरन्तरता दिने समेत जिकिर गरिन् । सडक पेटी खाली गर्दा सडक सुन्दर पनि देखिने र सडकमा हुने विभिन्न दुर्घटनाहरु कमी आउने उनको भनाई छ । उनले व्यवसायहरुलाई व्यवस्थित रुपमा संचालन गर्न आग्रह समेत गरिन् ।








