नेपाली युवा किक बक्सर अविरल घिमिरे किक बक्सिङ खेल क्षेत्रमा ऐतिहासिक कीर्तिमान बनाउन सफल भएका छन् ।
इन्टरनेसनल स्पोर्टस् किक बक्सिङ एसोसिएसनद्वारा जापानको नागोया सहरस्थित नागोया कंग्रेस सेन्टरमा शनिबार आयोजित ‘इन्टरनेसनल किक बक्सिङ’ (इस्का) प्रतियोगितामा उहाँ फ्रान्सका बक्सर एन्टोनिन मार्कोनीलाई ढाल्दै वल्र्ड च्याम्पियन हुन सफल भएका हुन् । बक्सर घिमिरेले प्रतियोगिताका लागि थाइल्याण्डको फुकेट शहरमा रहेको टाइगर मोओथाई अन्तर्राष्ट्रिय क्लबमा दुई महिनाको विशेष बन्द प्रशिक्षण आफ्नै खर्चमा लिएका थिए । यो ऐतिहासिक सफलतासँगै घिमिरे इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी बन्न सफल भएका छन् ।
इस्काको उपाधि चुमेपछि बक्सर घिमिरेले आफ्नो जितका लागि पिता तथा मुख्य प्रशिक्षक देव घिमिरे, आफूले प्रशिक्षण लिइरहेको सिमुरा डोजो, हलसम्म आएर हौसल प्रदान गर्नुहुने नेपाली, कोरियन तथा जापानी खेलप्रेमीलाई विशेष धन्यवाद दिएका छन् । आगामी दिनमा पनि नेपाली दर्शकहरूले यसैगरी नै हौसला दिने उनको विश्वास छ ।
‘हिमालय चितुवा’ का रूपमा विश्व प्रसिद्ध भएका घिमिरे सो प्रतियोगितामा आमनेसामने हुने पहिलो नेपाली बक्सर हुन् । प्रतियोगिताको मुख्य आकर्षणका रूपमा रहेको अन्तिम खेल मेन इभेन्ट म्याच मा घिमिरेले पहिलो राउण्डमै आफ्ना प्रतिस्पर्धी मार्कोेनीलाई रिङमा ढालेर ‘इन्टरनेसनल किक बक्सिङ’को उपाधि चुमे ।
हालसम्म प्रोफेसनल किक बक्सिङ हिट प्रतियोगिताको १४ खेलको अपराजित यात्राको जित हासिल गर्ने क्रममा हिमचितुवाले चारपटक हिट प्रतियोगिताको टाइटल म्याचको उपाधि (बेल्ट) समेत रक्षा गर्दै ‘मिडल वेटको रेकर्ड’ समेत कायम राख्न सफल भएका थिए ।








