गृहपृष्ठ कपिलवस्तु बिशेष गोल्डेन स्टारले जित्यो कपिलवस्तु जिल्ला फुटबल लिगको उपाधि

गोल्डेन स्टारले जित्यो कपिलवस्तु जिल्ला फुटबल लिगको उपाधि

सागर वि.क., वैखरी अनलाईन ।

कपिलवस्तु जिल्ला फुटबल लिगको उपाधि शान्ति सिर्जना क्लवलाई स्तब्ध पार्दै गोल्डेन स्टार युवा क्लवले हात पारेको छ । शुक्रबार बाणगंगा नगरपालिकाको बुद्धरंगशालामा भएको लिगको फाईनल खेलमा शान्ति सिर्जनालाई टाइ ब्रेकरमा हराउँदै गोल्डेनले उपाधि जितेको हो ।

गोलरहित बराबरीमा सकिएको पहिलो हाफपछि दोस्रो हाफमा सुजन खत्रीको गोलमा शान्ति सिर्जनाले अग्रता लिएको थियो । गोल्डेनका लागि मिलन राना मगरले दोस्रो हाफको अन्तिम समयमा गोल गरेपछि खेल टाइ ब्रेकरमा गएको थियो । मिलन नै फाईनल खेलको ‘म्यान अफ दि म्याच’ घोषित भए ।

टाइ ब्रेकरमा शान्ति सिर्जनालाई गोल्डेनले ४–३ गोलले हरायो । विहिबार दोस्रो सेमिफाईनल खेलमा मुहान एफसीलाई स्तब्ध पार्दै गोल्डेनले शान्ति सिर्जनासंगको फाईनल भेट पक्का गरेको थियो ।

उपाधि हात पारेसंगै गोल्डेनले ५५ हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्यो । उपविजेता बनेको शान्ति सिर्जनाले ३० हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्यो ।

कपिलवस्तु जिल्ला फुटबल संघको आयोजनामा कार्तिक ७ गतेदेखि सुरु भएको यस लिगमा जिल्ला भित्रका १० टोलीको सहभागिता रहेको थियो ।

सम्बन्धित् समाचार