साउदी प्रो लिगमा अल-कादसियाले अल-नासरमाथि पुनरागमन जित निकालेको छ ।
किङ्ग साउदी युनिभर्सिटी स्टेडियममा भएको खेलमा अल-कादसियाले अल-नासरलाई २-१ गोलअन्तरले पराजित गरेको हो । खेलमा सुरुवाती अग्रता भने अल-नासरले लिएको थियो । खेलको ३२औँ मिनेटमा कप्तान क्रिष्टियानो रोनाल्डोले गोल गर्दै अल-नासरलाई सुरुवाती अग्रता दिलाएका थिए ।
तर, त्यसको पाँच मिनेटपछि नै अल-कादसियाका लागि जुलियन क्विनोन्सले गोल गर्दै खेल १-१ गोलको बराबरीमा ल्याएका थिए । पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको थियो । खेलको ५०औँ मिनेटमा पियरे-एमरिक ओबामेयाङ्गले गोल गर्दै अल-कादसियालाई २-१ गोलअन्तरको पुनरागमन जित दिलाएका हुन् ।
जितसँगै अल-कादसिया ११ खेलबाट २२ अंकका साथ लिगको पाँचौँ स्थानमा छ । पराजित अल-नासर समान खेलबाट २२ अंकका साथ लिगको तेस्रो स्थानमा छ ।
शीर्ष स्थानमा रहेको अल हिलालको १० खेलबाट २८ अंक छ ।








