म्यानचेस्टर सिटीलाई पछि पार्दै ब्राइटन इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ ।
गएराति भएको खेलमा साउथह्याम्टनसँग १-१ गोलको बराबरी खेल्दै ब्राइटन इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको हो । खेलमा सुरुवाती अग्रता भने ब्राइटनले लिएको थियो । तर, ब्राइटनले सुरुवाती अग्रता कायम राख्न सकेन ।
खेलको २९औँ मिनेटमा कोरु मिटोमाले गोल गर्दै ब्राइटनलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ५९औँ मिनेटमा फ्लिन डाउन्सले साउथह्याम्टनका लागि गोल गर्दै खेल १-१ गोलको बराबरीमा ल्याएका थिए । बाँकी समयमा गोल हुन नसक्दा ब्राइटन र साउथह्याम्टन १-१ गोलको बराबरीमा रोकिएका हुन् ।
बराबरीसँगै ब्राइटन १३ खेलबाट २३ अंकका साथ लिगको दोस्रो स्थानमा उक्लिएको छ । शीर्ष स्थानमा रहेको लिभरपुलको १२ खेलबाट ३१ अंक छ । तेस्रो स्थानमा झरेको म्यानचेस्टर सिटीको १२ खेलबाट २३ अंक छ । साउथह्याम्टन भने १३ खेलबाट ५ अंकका साथ लिगको पुछारमा छ ।