भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानमा यात्रुको चाप बढ्दै गएको छ। विमानस्थलका प्रवक्ता दिपककुमार बज्राचार्यले विमानस्थलबाट सिधै विदेशमा उडान हुने एयरलाइन्समा क्रमिक रूपमा यात्रुहरू बढिरहेको बताए।
प्रवक्ता बज्राचार्यका अनुसार हाल बाहिर हल्ला भएजस्तो अकुपेन्सी नभएर उडानमा चुनौती नै आएको अवस्था होइन। ‘बाहिर के हल्ला हुन्छ त्यो मलाई थाहा भएन तर विमानस्थलबाट सिधै विदेश उडान हुने तालिकाको अकुपेन्सी विस्तारै बढेको अवस्था छ’, उनी भन्छन्, ‘उडान हुनासाथ तत्कालै यात्रुहरूको चाप बढ्छ भन्ने होइन, काठमाडौं बेस भएर गरिने उडानमा यात्रुको चाप त्यति नभए पनि सिधै विदेश उडान गर्ने एयरलाइन्समा यात्रुहरू बढिरहेकै छन्।’
हाल विमानस्थलबाट चार वटा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले उडान भरिरहेकोमा अहिले जजिरा एयरलाइन्स र थाइ एयर एसियाले सिधै विदेश उडान गरिरहेको छ।
जजिराले हप्ताको तीन दिन र थाई एयरले एक उडान गरिरहेको छ।