मनोज पौडेल
लुम्बिनी ।
बुद्ध जन्मस्थल लुम्बिनीमा आइतबारदेखि ३३ औं १० दिने शाक्यमोन्लम पूजा सुरु भएको छ । विश्व शान्ति र मानव कल्याणको कामना गर्दै शाक्यमोन्लम पूजा सुरु गरिएको हो ।
२५ वर्षसम्म निरन्तर लुम्बिनीमा गरिएको यो पूजा पछिल्लो ८ वर्षयता लुम्बिनीमा आयोजना गर्न रोकिएको थियो ।
४१ औं शाक्या गोङ्मा ट्रिचेन रिन्पोछेको उपस्थितिमा लुम्बिनी विकास कोष उपाध्यक्ष डा ल्हारक्याल लामाले १० दिने मोन्लम पूजा धार्मिकविधि पूर्वक शुभारम्भ गरेका हुन् । यो पूजा पुस २ गतेसम्म चल्नेछ ।
‘विश्वकै प्रतिष्ठित तथा ठूला गुरुको उपस्थितिमा लुम्बिनीमा शाक्यमोन्लम पूजा हुनु गौरबको विषय हो,’ उपाध्यक्ष लामाले भने, ‘यसले लुम्बिनीको पवित्रता र अध्यामिकता विशवभरि फैलिएको छ । आठ वर्षसम्म भारतमा गरिएको पूजा यो पटक लुम्बिनीमा भएको छ ।’
पूजामा विभिन्न मुलुकका एक सय ५० बढी लामा, भिक्षु भिक्षुणी र उपासक उपासिका सहित ५ सय स्वदेशी लामा, भिक्षीभिक्षुणी, उपासक उपासिका सहभागी छन् ।