काठमाडौं ।
एक होइन, दुई होइन । लगातार चार हार । त्यो पनि राष्ट्रिय टिमका कप्तान रोहित पौडेल कप्तान रहेको टिमको ।
कुनै टिमले लगातार चार जित, कसैले ३, कसैले २ त कसैले कम्तीमा १ खेल जितिसकेका थिए ।
चार खेलसम्म जितविहिन हुँदा लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलमाथि कति दबाब थियो होला अथवा उनले के सोचिरहेका थिए होलान् । जति गरेपनि जित हात पार्दैन । कहिले १ रनले हार्ने, कहिले १९२ रन बनाएर पनि डिफेण्ड गर्न नसक्ने । दुई खेलमा जित नजिक पुगेर पनि हार्नुपरेको पिडा लुम्बिनी लायन्समाथि थियो ।
पाँचौ खेलमा आएर पहिलो जित हात पारेपछि कप्तान रोहित सहित लुम्बिनीका खेलाडी, कोचिङ स्टाफ, समर्थक देखि सबैले केही राहत महसुस गरे । चयनको शास फेर्न पाए ।
पहिलो जितपछि रोहितले भगवानलाई समेत धन्यवाद दिए । ‘ब्याडली जित चाहिएको थियो । चार खेल भइसकेको थियो । विकेटहरु झर्ने बेला भगवानलाई थ्याङयु भनिराथेँ ।’
मंगलबार टीयू मैदानमा भएको पहिलो खेलमा लुम्बिनीले चितवन राइनोजलाई ३३ रनले हराएर पहिलो जित हात पार्यो । ५ खेलबाट टिमको खातामा २ अंक भएको छ ।
कप्तानी इनिङ्स
त्यसमा सबैभन्दा ठूलो योगदा उनै रोहितको रह्यो । उनले कप्तानीसहित ब्याट र बल दुवैमा लिड गर्दै सानदार प्रदर्शन गरे । लिड फ्रम दी फ्रन्ट भनेजस्तै सबै क्षेत्रमा रोहित छाए । रोहितले सुरुमा ८० रन बनाए अनी बलिङमा पनि सर्वाधिक ४ विकेट लिए ।
यो रोहितको उत्कृष्ट प्रदर्शन मध्येको एक हो । र उनको करियरको लामो समसयसम्म पनि यो प्रदर्शन सम्झनलायक हुनेछ । ‘मे बी आजको प्रदर्शन राम्रै भयो । अझै धेरै आउन बाँकी छ । एनपीएल नै मेरो लागि राम्रो भइराछ । तर टिमको लागि लास्ट चार खेल राम्रो भइराको थिएन तर आज लाइन क्रस भयो राम्रो भयो ।’ टीयू मैदानमा यो प्रदर्शन पर्सनल बेस्ट प्रदर्शन हो भनेर सुरुमै सोध्दा रोहितले भने ।
टस हारेर पनि ब्याटिङमा कप्तानी इनिङ्स खेल्दै टिमको स्कोर १६७-६ बनाए । जसमा रोहितले ८० रन योगदान गरे । ५७ बल खेल्दै ६ चौका र ५ छक्का प्रहार गरे । रोहितले एनपीएलमा बनाएको यो दोस्रो अर्धशतक हो । यसअघि उनले पोखरा एभेन्जर्स विरुद्ध ९५ रन बनाएका थिए ।