युभेन्ट्सलाई हराउँदै एसी मिलान इटालियन सुपर कपको फाइनलमा प्रवेश गरेको छ । साउदी अरबको अल-अवाल पार्कमा भएको खेलमा युभेन्ट्समाथि २-१ गोलअन्तरको पुनरागमन जित निकाल्दै एसी मिलान सुपर कपको उपाधि नजिक पुगेको हो ।
खेलमा सुरुवाती अग्रता भने युभेन्ट्सले लिएको थियो । खेलको २१औँ मिनेटमा केनन एल्डिजले गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा चार मिनेटभित्र दुई गोल खाएपछि युभेन्ट्स एसी मिलानसँग स्तब्ध भएको हो ।
खेलको ७१ औँ मिनेटमा एसी मिलानका लागि क्रिष्टियन पुलिसिकले पेनाल्टीमार्फत गोल गर्दै खेल १-१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको ७५औँ मिनेटमा युभेन्ट्सका फेडेरिको गाट्टीले आत्मघाती गोल गरेपछि एसी मिलान २-१ को जित निकाल्न सफल भयो ।
जितसँगै इटालियन सुपर कपको फाइनल प्रवेश गरेको एसी मिलानले अब उपाधिका लागि चिरप्रतिद्वन्द्वी इन्टर मिलानको सामना गर्नेछ । यसअघि इन्टर मिलान एट्लान्टालाई २-० गोलअन्तरले हराउँदै सुपर कपको फाइनल प्रवेश गरेको थियो । यी दुई टिमबीचको उपाधि भिडन्त अब सोमबार हुनेछ ।








