गुल्मी — लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विकासका कामको श्रेय कसले लिने भन्ने जुँगाको लडाइँले त्यो ठाउँको विकास हुन नसक्ने बताएका छन् । विकासका काममा राजनीतिक विचार छाडेर एउटै मतका साथ लाग्नुपर्ने पनि उनको धारणा छ ।
‘विकासको सवालमा एउटै पार्टी बन्नूस्, विचारको सवालमा संगठन निर्माणको सवालमा तपाईंहरू आ–आफ्नो ढंगले लाग्नूस्,’ गुल्मीको मदानेमा कंकेदेउराली बहुउद्देश्यीय जलाशय योजना निर्माणको छलफलमा सहभागी हुँदै उनले भने, ‘एउटाले गर्यो भने अर्को गएर बजेट रोक्ने, अर्कोले गर्यो भने अर्को गएर रोक्ने गरियो भने त त्यो ठाउँको त्यो जिल्लाको विकास हुन सक्दैन । त्यो विकास भएन भने त पछि त तपाईं–हामी नै पर्ने हो ।’
गुल्मी, अर्घाखाची र प्यूठानको सिमानामा पर्ने कंके देउरालीमा बहुउद्देश्यीय जलाशययुक्त खानेपानी आयोजना स्थलको अवलोकन गर्दै उनले तीनै तहका सरकारको लागत साझेदारीमा आयोजना बनाउनुपर्ने धारणा राखे ।
तीन जिल्लाका विभिन्न स्थानीय तहका लागि खानेपानीको आवश्यकता पूरा गर्ने मुख्य उद्देश्यसहित सिँचाइ, जैविक विविधता संरक्षण, पर्यापर्यटनको विकासका लागि ताल महत्त्वपूर्ण हुने उनले बताए ।
‘यसको एउटा सेक्टरमा प्रदेशले साझेदारी गरेर जान सक्छ,’ मुख्यमन्त्री आचार्यले भने, ‘ड्यामको सेक्टरमा संघीय सरकारबाट काम अगाडि बढाएको सन्दर्भमा खानेपानीको सेक्टरमा प्रदेश र संघीय सरकारबीच साझेदारी हुन सक्छ ।’