काठमाडौं ।
लामो समयदेखि रोकिएको सवारी चालक अनुमति-पत्र (स्मार्ट लाइसेन्स) अति आवश्यक परेका व्यक्तिले तत्काल पाउने भएका छन् । यातायात व्यवस्था विभागले निर्देशिका बनाएर अति आवश्यक परेकाहरुलाई लाइसेन्स प्रिन्ट गरेर दिन थालेको हो ।
निर्देशिका आउनुअघि विदेश जानेहरुका लागि मात्रै तत्काल लाइसेन्स उपलब्ध गराइन्थ्यो । अब भने नेपालमै बस्नेहरुले पनि आवश्यकताअनुसार लाइसेन्स पाउने भएका हुन् ।
नयाँ निर्देशिकाअनुसार लाइसेन्स आवश्यक भएको खुलाएर निवेदन दिनेले ३ दिनभित्रै स्मार्ट लाइसेन्स पाउनेछन् । उक्त व्यवस्था गर्न विभागले अति आवश्यक चालक अनुमतिपत्र छपाइसम्बन्धी निर्देशिका, २०८१ जारी गरेको थियो ।
विभागले सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ को नियम ६२ ले दिएको अधिकार प्रयोग गरी उक्त निर्देशिका बनाएको हो ।
विभागमै उपस्थित भएर वा विभागको वेबसाइटमा गएर लाइसेन्स आवश्यक परेको कारण खुलाई नयाँ लाइसेन्स प्रिन्टको लागि आवेदन दिन सकिनेछ ।