गृहपृष्ठ खबर बाणगंगामा जारी छैठौं मेयर कप फुटवल : वडा नं.१ र २ को विजयी सुरुवात

बाणगंगामा जारी छैठौं मेयर कप फुटवल : वडा नं.१ र २ को विजयी सुरुवात

प्रकाशित मिति:

सागर वि.क., वैखरी अनलाईन ।

कपिलवस्तुको बाणगंगा नगरपालिकामा जारी छैठौं मेयर कप फुटवल प्रतियोगितामा वडा नं.१ र २ ले विजयी सुरुवात गरेका छन् । सोमबार चारनम्बर जीतपुरमा अवस्थित बुद्धरंगशालामा भएको पहिलो खेलमा वडा नं.११ लाई पराजित गर्दै वडा नं.१ ले विजयी सुरुवात गरेको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख खिम बहादुर जिसीले जानकारी दिए ।

वडा नं.१ ले वडा नं.११ लाई १-० गोलले पराजित गरेको हो । पहिलो हाफमा कुनाल सारुले गरेको गोल नै निर्णायक बन्न पुग्यो । कुनाल नै ‘म्यान अफ दि म्याच’ घोषित भएको शाखा प्रमुख जिसीले बताए ।

यस्तै दोस्रो खेलमा वडा नं.५ लाई ६-० गोलले पराजित गर्दै वडा नं.२ ले शानदार सुरुवात गरेको छ । वडा नं.२ को जितमा मिन प्रसाद मिधुन, क्रिस सुवेदी, संजय कार्की, समिर थारु, मनिष पुन र गोविन्द पालुङ्गेले एक÷एक गोल गरेका हुन् । दोस्रो खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेका मनिष पुन ‘म्यान अफ दि म्याच’ घोषित भए ।

नगर खेलकुद विकास समितिका अध्यक्ष पदम सेनले मंगलबार २ खेल हुने जानकारी दिए । उनका अनुसार पहिलो खेल वडा नं.७ र १० बीच दिउँसो १ बजे हुने छ भने दोस्रो खेल वडा नं.३ र ९ बीच दिउँसो ३ बजे हुने छ ।

आईतबार प्रतियोगिताको उद्घाटन खेलमा डिफेन्डिङ्ग च्याम्पियन वडा नं.४ लाई वडा नं.१० ले १-० गोलले पराजित गरेको थियो ।

सम्बन्धित् समाचार