गृहपृष्ठ खबर अब पिपरा अस्पतालमै थाइराइड रोगको पहिचान र उपचार !

अब पिपरा अस्पतालमै थाइराइड रोगको पहिचान र उपचार !

प्रकाशित मिति:

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तुको बाणगंगा नगरपालिका- २ मा रहेको पिपरा अस्पताललाई लायन्स क्लब अफ बुटवल स्टार्सले थाइराइड रोग पहिचान गर्ने अत्याधुनिक मेसिन हस्तान्तरण गरेको छ । स्वास्थ्य सेवाको स्तरोन्नति गर्दै समुदायलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबार एक कार्यक्रमकाबीच ‘केमिल्युमिनेसेन्स अनलाईजर’ मेसिन हस्तान्तरण गरेको लायन्स क्लब अफ बुटवल स्टार्सले जनाएको छ ।

बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले अब थाइराइड सम्बन्धी समस्याहरूको पहिचान गर्न निजी अस्पताल र बुटवल धाउनुपर्ने बाध्यताको अन्त्य हुने विश्वास व्यक्त गरे । अब स्थानीय स्तरमै थाईराईडको पहिचानसंगै उपचार गर्न सहज हुने उनले बताए ।

थाइराइड ग्रन्थीसम्बन्धी हाइपोथाइराइडिज्म र हाइपरथाइराइडिज्म जस्ता रोगको समयमै पहिचान हुन नसक्दा भविष्यमा गम्भीर स्वास्थ्य समस्या निम्त्याउने भएकाले यो मेसिन बिरामीहरूका लागि महत्वपूर्ण सावित हुने उनको विश्वास छ ।

उनले पिपरा अस्पताल नगरकै गौरब भएकाले यस अस्पतालमा सेवा सुविधा वृद्धि गर्न नगर निरन्तर रुपमा लागेको बताए । नगरप्रमुख अर्यालले
नगरको स्वास्थ्य अभियानमा लायन्स क्लब अफ बुटवलले सहयोग गरेको भन्दै खुशी व्यक्त गरे ।

लायन्सको मुख्य ध्येय समाजसेवा नै भएकाले सोही अनुरुप यो मानवीय तथा सामाजिक काम गरेको लायनस् क्लव अफ बुटवल स्टार्सका अधयक्ष भुपेन्द्र अर्यालले सो अवसरमा बताए ।

अस्पतालका मे.सु डा.सरस्वती भट्टराईले यो नयाँ उपकरणको उपलब्धताले अब यस क्षेत्रका बिरामीहरूलाई टाढा जानु नपर्ने र पिपरा अस्पतालमै गुणस्तरीय सेवा उपलब्ध गराउन सहज हुने भन्दै खुशी व्यक्त गरिन् ।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले अब केही दिनमै मेसिन सेट गरेपछि थाइराईडसम्बन्धि सेवा पिपरा अस्पतालबाटै हुने जानकारी दिए ।

सो कार्यक्रममा लायन्सका पदाधिकारी, यस क्षेत्रका जनप्रतिनिधि, कर्मचारीहरुको सहभागीता रहेको थियो ।

सम्बन्धित् समाचार