कपिलवस्तु ।
जल्लाको विजयनगर गाउँपालिका- ३ मायनारीकी सुकुना खटिकलाई कुटपिट गर्ने नन्दलाल कुर्मीलाई प्रहरीले पक्राउ गरेको छ ।
चैत २ गते सामान्य विवाद हुँदा नन्दलाल कुर्मी र उनका परिवारले खटिकलाई कुटपिट गरेका थिए ।
कुटपिटपछि घाइते भएकी खटिकले प्रहरीसमक्ष न्यायको माग गरे पनि सुरुदेखि नै घटनाले सार्वजनिक चर्चा पाएको थिएन । चैत ५ गते विभिन्न मिडियामा घटनाबारे समाचार प्रकाशन भएपछि प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको हो ।
समाचार बाहिरिएपछि इलाका प्रहरी कार्यालय गणेशपुरले चैत ७ गते नन्दलाल कुर्मीलाई नियन्त्रणमा लिएको थियो । प्रारम्भिक अनुसन्धानपछि प्रहरीले जिल्ला अदालत कपिलवस्तुबाट ५ दिनको म्याद थप गरी अनुसन्धान थालेको थियो । अनुसन्धान प्रक्रियालाई थप व्यवस्थित बनाउन प्रहरीले अदालतबाट पुनः ७ दिनको म्याद थप गराएको छ ।
प्रहरीका अनुसार घटनाबारे विस्तृत छानबिन भइरहेको छ । सुकुना खटिकमाथि भएको कुटपिट जातीय विभेदसँग सम्बन्धित छ वा अन्य व्यक्तिगत विवादका कारण भएको हो भन्ने विषयमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
यस घटनाले दलित समुदायमाथि हुने हिंसाको विषयलाई पुनः सतहमा ल्याएको छ । स्थानीय अधिकारकर्मीहरूले पीडितलाई न्याय दिलाउन दोषीलाई कडा कारबाहीको माग गरेका छन् । प्रहरीले पीडितको सुरक्षाका लागि आवश्यक कदम चाल्ने प्रतिबद्धता जनाएको छ ।
घटनाको विषयमा थप अनुसन्धान जारी रहेको र दोषी ठहरिए आवश्यक कानुनी कारबाही गरिने प्रहरीले जनाएको छ ।