वैखरी अनलाईन, बुद्धभूमि ।
कपिलवस्तुको बुद्धभुमि नगरपालिका− २ बड्हरामा रहेको गौतमबुद्ध बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का नवनिर्वाचित पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन् ।
बुधबार क्याम्पसमा आयोजित एक कार्यक्रमकाबीच सपथ ग्रहण गरेसंगै स्ववियुका नवनिर्वाचित पदाधिकारीहरुले पदभार ग्रहण गरेको निर्वाचन संयोजक दिपकप्रसाद भुसालले वैखरीलाई जानकारी दिए । नवनिर्वाचित पदाधिकारीहरुलाई सोही कार्यक्रममा प्रमाणपत्र वितरण गरिएको उनले जानकारी दिए ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै बुद्धभूमि नगरपालिकाका नगरप्रमुख केशव कुमार श्रेष्ठले नवनिर्वाचित पदाधिकारीहरुलाई शुभकामना दिदैं विधार्थीको हकहितको पक्षमा दृढ भएर काम गर्न आग्रह गरे । आजका विधार्थीहरु नै भविष्यका नेतृत्वकर्ता भएको भन्दै उनले आफ्नो सर्वाङ्गिण पक्षको विकासमा ध्यान दिन आवश्यक रहेको बताए ।
नगरपालिकाले युवाहरुको क्षमता अभिवृद्धिका लागि हरेक बर्ष विभिन्न कार्यक्रम गर्दै आएको बताउँदै उनले त्यस्ता कार्यक्रममा सहभागी हुन उनले आग्रह समेत गरे ।
नगरप्रमुख श्रेष्ठले नगरमा भएका विकास निर्माणका काममा विधाथीहरुले विशेष चासो देखाउनुपर्ने बताए ।
यस क्याम्पसमा गत चैत्र ५ गते सम्पन्न स्ववियु निर्वाचनबाट स्ववियु सभापतिमा नेविसंघका शिवप्रसाद घिमिरे निवाचित भएका थिए ।
नवनिर्वाचित सभापति घिमिरेले विधार्थीहरुको हितको लागि उनीहरुकै आवाज बनेर काम गर्ने प्रतिवद्धता जनाएका छन् ।