नेपालगन्ज ।
नेपालगन्ज रंगशालामा जारी अन्तर्राष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा कर्णाली प्रदेश फुटबल संघसँग प्रतिस्पर्धामा सहज जित निकाल्दै एपीएफ सेमिफाइनलमा प्रवेश गरेको छ ।
सोमबार कर्णाली प्रदेश फुटबल संघलाई ६–० को सहज जित निकाल्दै एपीएफ लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो ।
एपीएफलाई जित दिलाउन रेनुका नगरकोटी, अनिता केसी, गीता राना र रश्मि कुमारी घिसिङले १/१ गोल गरेका थिए । दुई गोल भने कर्णालीबाट आत्मघाती भएको थियो । म्यान अफ दि म्याच एपीएफकी रेनुका घोषित भइन् ।
रौतहट फुटबल संघ, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब यसअघि नै सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । योसँगै सेमिफाइनल समीकरण पूरा भएको छ । मंगलबार पहिलो सेमिफाइनल दुई विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच हुनेछ ।
शुक्रबारदेखि सुरु भएको लुम्बिनी कप आमन्त्रण महिला फुटबल प्रतियोगितामा विजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेताले २ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । बाँके जिल्ला फुटबल संघको समन्वयमा अन्तरालले आयोजना गरेको प्रतियोगितामा तीन विभागीयसहित आठ टिम सहभागी छन् ।








