महिला युरोपियन च्याम्पियन्स लिगको उपाधि आर्सनलले जितेको छ। १८ वर्षपछि उपाधि जित्ने क्रममा आर्सनलले साविक च्याम्पियन बार्सिलोनालाई १-० ले हरायो।
पोर्चुगलको एस्तादियो जोसे अल्भालाडे रंगशालामा शनिबार राति भएको फाइनलमा खेलको ७५ औं मिनेटमा आर्सनलले गरेको एकमात्र गोल निर्णायक बन्यो। बेथ मीडको पासमा स्टिना ब्लाकस्टेनीउसले टिमका लागि निर्णायक गोल गरेकी थिइन्।
आर्सनलले पछिल्लो पटक सन् २००७ मा उपाधि जितेको थियो। त्यसयताको १८ वर्षे प्रतिक्षा शनिबार अन्त गर्न सफल भयो। बार्सिलोना योपटक पनि उपाधिका लागि मुख्य दाबेदार थियो। उसले पछिल्ला पाँच वर्षमा चौथो उपाधि जित्ने लक्ष्य लिएको भएपनि सफल हुन सकेन।
बार्सिलोना दुई पटकका बलोन डी’ओर विजेता आइताना बोनमाती र एलेक्सिया पुटेलासको बलियो नेतृत्वमा रहेको भएपनि उनीहरुको प्रभावलाई आर्सनलले निस्तेज पार्यो। वोल्फ्सबर्ग र इङ्लिस च्याम्पियन चेल्सीलाई नकआउट चरणमा हराएको बार्सिलोना सानदार लयमा भएपनि फाइनलमा भने निरास बन्यो।
आर्सनलले रक्षात्मक शैली अपनाउँदै अधिकाश समय बल नियन्त्रणमा राख्न दिएन। दोस्रो हाफको सुरुवातमा केही दबाब बनाएपनि बार्सिलोनाले आर्सनलविरुद्ध आकर्ष अबसर बनाउन सकेन्। अन्तत: आर्सनले अन्तिम समयमा गोल गर्दै बार्सिलोनालाई स्तब्ध बनायो।








