एरिका गुरुङले विश्वकै प्रतिष्ठित कराते-१ प्रिमियर लिगमा ऐतिहासिक कास्य पदक हात पारेकी छन्। विश्वका कराते खेलाडीको सपनाका रुपमा रहने यो प्रतियोगितामा छनोट हुँदै एरिकाले ऐतिहासिक पदक हात पारेकी हुन्।
विश्वभरबाट केवल ३२ जना मात्र खेलाडीले खेल्न पाउने यो प्रतियोगितमा एरिका छनोट भएर मोरक्को पुगेकी थिइन्। आइतबार राति सम्पन्न महिला ६८ केजी माथि तौल समूहअन्तर्गत कास्य पदकको खेलमा उनले फ्रान्सकी पिए क्लेमेन्सलाई ६-२ ले पराजित गर्दै कराते प्रिमियर लिगको इतिहासमै नेपाललाई पहिलो पदक दिलाउन सफल भइन्।
त्यसोत यो प्रतियोगिता खेल्ने पहिलो नेपाली खेलाडी बनेकी एरिकाले पहिलो सहभागितामै ऐतिहासिक पदक हात पारीन्। विश्व वरीयताको ५० औं स्थानमा रहेकी एरिकाले २० औं वरीयतामा रहेकी क्लेमेन्सलाई पराजित गरेसँगै यो उपलब्धि हासिल गरेकी हुन्।
विश्व कराते महासंघले एरिकाको लगातार उत्कृष्ट प्रदर्शनपछि उनलाई मोरक्कोको रबातमा भएको यो प्रतियोगिताका लागि छनोट गरेको थियो। एरिकाले सुरुवाती चरणको रुपमा रहेको पुल ६ को खेलमा टर्कीकी जेना गाबालासँग २-२ र इटालीकी क्लिओ फेराकुतीलाई ३-१ ले हराउँदा साइप्रसकी जिआमुकी ठेओदोसियासँग १-१ को बराबरी खेलेकी थिइन्।
त्यसपछि इजिप्टकी हैदी महघुबलाई ८-२ ले हराएकी उनी स्पेनकी मारिया टोरेस गार्सियासँग भने ५-५ को बराबरीमा पछि परेकी थिइन्। त्यसपछि तेस्रो स्थानको खेलमा उनले क्लेमेन्सलाई हराइन्।
एरिकालाई सेमिफाइनलमा हराएकी मारिया टोरेसले नै फाइनलमा इंग्ल्यान्डकी रोसेल वाल्टर्सलाई ४-२ ले हराएर स्वर्ण जितिन्।








