सागर वि.क., वैखरी अनलाईन ।
बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले अब बाणगंगाको प्रतिस्पर्धा जिल्लास्तरमा नभएर प्रदेश र राष्ट्रियस्तरमा भएको बताउनुभएको छ । शनिबार आगामी आर्थिक बर्षको निति तथा कार्यक्रम र बजेटका सन्दर्भमा संचारकर्मीहरुसंग भएको अन्तरक्रिया कार्यक्रममा नगरप्रमुख अर्यालले यस्तो बताउनुभएको हो ।
‘बाणगंगा हरेक सुचकमा अग्रस्थानमा छ । त्यो तथ्याङ्कले देखाएको विषय हो । विभिन्न कामका सन्दर्भमा काठमाडौं जादाँ बाणगंगा नगरपालिका भनेपछि कुन जिल्लाको हो भनि राख्नुपर्दैन् । सबैले बुझिसकेका छन् । अब हाम्रो प्रतिस्पर्धा जिल्लाका अन्य पालिकासंग होईन् । प्रदेश र राष्ट्रियस्तरमा हो,’ उहाँले भन्नुभयो ।
सो क्रममा उहाँले कार्यसम्पादनका दृष्टिकोणले बाणगंगा नगरपालिका प्रदेशमा उत्कृष्ट तीनभित्र र राष्ट्रियस्तरमा उत्कृष्ट १५ पालिकाभित्र पर्ने जिकिर गर्नुभयो । नगरप्रमुख अर्यालले पालिकाले यस क्षेत्रभित्र रहेका संचारगृहलाई विगतदेखि नै संरक्षण, प्रवद्र्धन र प्रोत्साहन गर्दै आएको स्मरण गर्दै आगामी बर्षमा पनि त्यसलाई निरन्तरता दिने प्रतिवद्धता जनाउनुभयो ।
उहाँले बाणगंगा मिडियाको हबका रुपमा विकसित भएको भन्दै यस क्षेत्रमै ‘क’ वर्गको पत्रिका प्रकाशन हुन आवश्यक रहेको बताउनुभयो । नगरले पर्यटन सम्बन्धि हालै ५ बर्षे गुरुयोजना तयार गरेको जानकारी दिदैं उहाँले भन्नुभयो, ‘यस क्षेत्रका धार्मिक, ऐतिहासिक तथा पुरातात्विक स्थलको संरक्षण, सम्बद्र्धन र प्रचारप्रसार गर्ने उद्देश्यसहित गुरुयोजना तयार पारेका छौं । यसको प्रचारप्रसार गर्ने पाटो संचारमाध्यमसंग जाडिन्छन् । त्यो भूमिका यस क्षेत्रका संचारमाध्यमले शसक्त रुपमा निर्वाह गर्नेमा नगर विश्वस्त छ ।’
उहाँले आगामी आर्थिक बर्षको नितिमै त्रैमासिक रुपमा पत्रकारहरुसंग भेटघाट गर्ने कार्यक्रमलाई समावेश गरेर नगरका विभिन्न गतिविधिबारे जानकारी गराउने प्रबन्ध मिलाईने बताउनुभयो ।
उपप्रमुख रिताकुमारी चौधरीले पत्रकारहरुले सत्य, तथ्यलाई विश्लेषण गरेर मात्र विश्वसनीय र वस्तुनिष्ठ समाचार सम्प्रेषण गर्नुपर्ने बताउनुभयो । अन्यथा त्यस्ता समाचारले समाजमा नकारात्मक सन्देश प्रवाह गरेर आमजनतामा नैरश्यता पैदा गर्ने उहाँको चिन्ता छ । उहाँले यस क्षेत्रका पत्रकारहरुको क्षमता अभिवृद्धिका कार्यक्रमलाई आगामी बर्षको निति तथा कार्यक्रममा समावेश गर्ने प्रतिवद्धता समेत जनाउनुभयो ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालसहित बाणगंगा नगरपालिका क्षेत्रका संचारकर्मीहरुको उल्लेख्य सहभागिता रहेको उक्त अन्तरक्रिया कार्यक्रममा नगरप्रवक्ता विष्णुप्रसाद पौडेल र नगरका कर्मचारीहरुको समेत सहभागिता रहेको थियो ।