काठमाण्डौ – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले विजयी शुरुआत गरेको छ । लिगको नयाँ सिजनअन्तर्गत गएराति भएको पहिलो खेलमा अघिल्लो संस्करणको विजेता लिभरपुलले बर्नमाउथलाई ४–२ गोलले हरायो ।
एनफिल्डमा भएको खेलमा लिभरपुलले खेलको पहिलो हाफमा एक र दोस्रो हाफमा तीन गोल गर्यो ।
उसका हुगो एकिटिकेले खेलको ३७ औं मिनेटमा, कोडी गाक्पोले ४९ औं मिनेटमा, फेडेरिको चिएसाले ८८ औं र इन्जुरी समयमा मोहम्मद सलाहले गोल गरे ।
त्यस्तै खेलको दोस्रो हाफमा बर्नमाउथले दुई गोल गर्यो। उसका एन्टोइन सेमेन्होले ६४ औं र ७६ औं मिनेटमा गोल गरे । विजयी शुरुआत गरेको लिभरपुलको तीन अङ्क भएको छ ।
यो खेलमा हालै स्पेनमा भएको कार दुर्घटनामा ज्यान गुमाएका लिभरपुलका फरवार्ड डियागो जोटा र उनका भाइ आन्द्रेको सम्झनामा श्रद्धाञ्जली व्यक्त गरिएको थियो ।








