गृहपृष्ठ Featured बार्सिलोनाको विजयी सुरुवात

बार्सिलोनाको विजयी सुरुवात

स्पेनिस लालिगाको आफ्नो पहिलो खेलमा बार्सिलोनाले विजयी सुरुवात गरेको छ। मार्कुस रासफोर्डले बार्सिलोनाको तर्फबाट सिजनको पहिलो लालिगा खेलमा डेब्यु गरेका छन्।

पहिलो प्रतिस्पर्धात्मक खेलमा बार्सिलोनाले ला लिगा उपाधि रक्षाको अभियानमा प्रभावसाली सुरुवात गरेको छ।

खेलमा मालोर्काका दुई खेलाडीलाई रातो कार्ड खान पुग्दा बार्सिलोनाले पूर्ण रुपमा खेल दबाबमा राख्दै ३-० को जित दिलायो। खेलमा बार्सिलोनाले ७ औं मिनेटमै अग्रता बनायो। लामिन यामालको उत्कृष्ट एसिस्टमा राफिन्हाले हेड गर्दै टिमलाइ अग्रता दिलाए। यामालको प्रहार रोक्न गएका कप्तान एन्टोनियो रायल्लो टाउकोमा चोट लागेर जमिनमा ढल्न पुग्दा फेरेन टोरेसले २३ औं मिनेटमा अग्रता दोब्बर बनाए।

त्यस घटनापछि असन्तुष्टि प्रकट गरेकोमा पहेँलो कार्ड पाएका मनु मोरलानेसले केही क्षणमै यामालमाथि गरेको फाउलका कारण दोस्रो पहेँलो कार्ड पाएर मैदान बाहिरिंदा ३३ औं मिनेटमै मालोर्का १० खेलाडीमा समेटियो। त्यसको केही समयमानै अर्थात ३९ औं मिनेटमा बार्सिलोनाका नयाँ गोलरक्षक जोआन गार्सियामाथि खतरनाक ट्याकलका कारण भेडाट मुरिकी पनि मैदान छोड्न बाध्य भए। सुरुमा पहेँलो कार्ड दिएपनि भिएआर पुनरावलोकनपछि उनलाइ रातो कार्ड दिएको थियो।

९ खेलाडी मात्र बाँकी रहेको मल्लोर्काविरुद्ध बार्सिलोनाले ६० मिनेटसम्म गोल गर्न सकेन। अन्ततः खेलको अतिरिक्त समयमा यामालले शक्तिशाली प्रहार गर्दै तेस्रो गोल गर्दा बार्सिलोनाले लिगमा उत्कृष्ट सुरुवात गर्न सफल भयो। ६९औँ मिनेटमा रासफोर्ड मैदान प्रवेश गर्दै बार्सिलोनाको लागि डेब्यू गरे। उनी १९८९ मा गेरी लिनेकरपछि बार्सिलोनाको पहिलो टोलीमा प्रतिस्पर्धात्मक खेल खेल्ने पहिलो इंग्लिस खेलाडी समेत बने।

२७ वर्षीय रासफोर्ड म्यानचेस्टर युनाइटेडबाट एक वर्षको ऋणमा आएका हुन्। उनले सेन्टर-फरवार्डको भूमिकामा खेले पनि गोल गर्ने अवसर भने पाएनन्। बार्सिलोनाको आर्थिक समस्याका कारण रासफोर्ड र नयाँ खेलाडी गार्सियालाई खेल हुने बिहान मात्र ला लिगामा दर्ता गरिएको थियो।

सम्बन्धित् समाचार