कञ्चन । रुपन्देहीको कञ्चनमा लोकप्रिय नाइन ए साइड फुटबल प्रतियोगिता, गौतमबुद्ध कपको दोस्रो संस्करण शनिबारदेखि सुरु भएको छ । कञ्चन-५ स्थित पिपरीचापा खेल मैदानमा आयोजना गरिएको प्रतियोगिताको उद्घाटन कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले गर्नुभयो ।
गौतमबुद्ध सामुदायिक विकास केन्द्रको आयोजनामा हरितालिका तीजको अवसरमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा न्यू सिर्जनशिल फुटबल क्लबले न्यू बुद्ध स्पोर्ट क्लबलाई २०-० को फराकिलो गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ। न्यू सिर्जनशिलको जितमा २ गोल गरेका आसमान क्षेत्री ‘म्यान अफ द म्याच’ घोषित भए ।
उद्घाटन समारोहमा बोल्दै गाउँपालिका अध्यक्ष ढकालले खेलकुदले समाजमा अनुशासन र एकता ल्याउने बताउनुभयो भने जिल्ला फुटबल संघ, रुपन्देहीका अध्यक्ष लोक पुनले खेलकुद विकासमा स्थानीय सरकारको भूमिका महत्त्वपूर्ण हुनेमा जोड दिनुभयो ।
भदौ १० गतेसम्म चल्ने यस प्रतियोगितामा कुल १६ टोलीको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले नगद रु. १,११,१११ र उपविजेताले रु. ६६,६६६ सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। साथै, प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूका लागि पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।








