गृहपृष्ठ Featured रूपन्देही प्रहरीद्वारा १ करोड ७१ लाखका अवैध इ-भेप बरामद

रूपन्देही प्रहरीद्वारा १ करोड ७१ लाखका अवैध इ-भेप बरामद

भैरहवा- जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले राजस्व छलीका अवैध सामानसहित एउटा पिकअप जिप र चालकलाई नियन्त्रणमा लिएको छ। लुम्बिनी सांस्कृतिक नगरपालिका-१०, महिलवारमा गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लुम्बिनी र अस्थायी प्रहरी बिट महिलवारको संयुक्त टोलीले चेकजाँचका क्रममा सामानसहित पिकअप र चालकलाई नियन्त्रणमा लिएकाे हो।

 

जिल्ला प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुरज कार्कीले बुधबार साँझ करिब ६:३० बजे लु २ च ६३०३ नम्बरको पिकअप जिपलाई शंकास्पद ठानेर रोकेर जाँच गर्दा मायादेवी गाउँपालिका-४ निवासी ३० वर्षीय नारायण अग्रहरी बनियाँले चलाएको उक्त जिपमा बिना बिल-बिजकका सामानहरू फेला परेकाे जनाए । प्रहरीले जिपसहित कुल रु. १ करोड ७१ लाख २५ हजार मूल्य बराबरका सामान र चालकलाई नियन्त्रणमा लिएको छ।

नियन्त्रणमा लिइएका सामानहरूमा विभिन्न कम्पनीका फ्लेवर २७ कार्टून (१३५० टुक्रा) छन् । जसकाे मूल्य रु. २९ लाख ७० हजार बराबर छ । ४५ लाख ८२ हजार बराबरको Grape Ice (Dwain Racing) ई-भेप १५८० टुक्रा, RELX ACE (20k) ई-भेप १२०० टुक्रा रु. ३७ लाख २० हजार, Dojo Company ई-भेप २६८५ टुक्रा रु. २९ लाख ५३ हजार ५०० बराबरको रहेकाे कार्कीले जनाए ।

यस्तै RELX Nova ई-भेप ३०० टुक्रा ९ लाख रुपैयाँ, Peachy Passion Blast ई-भेप ९६ टुक्रा २ लाख ४० हजार, Mr. Blue (+Ice Blast) ई-भेप १०० टुक्रा २ लाख ५० हजार बराबरको बरामद भएकाे छ ।

यस्तै, Electric Mixture १ थान ४ हजार ५०० रूपैयाँ, प्लास्टिक प्याक गर्ने मेसिन १ थान रु. ३५ हजार, Wrapping Plastic १५ किलो रु. १ हजार ५००, लु २ च ६३०३ नम्बरको पिकअप जिप रु. १५ लाख रुपैयाँ बराबर कायम गरिएकाे प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिइएका यी सामान, जिप र चालकलाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय, बुटवल पठाइएको प्रहरीले जनाएको छ।

सम्बन्धित् समाचार