कपिलवस्तु ।
बाणगंगा नगरपालिका–४, सिद्धिपुरमा अवस्थित सयपत्री क्याम्पसले छोटो समयमै उल्लेखनीय शैक्षिक सफलता हासिल गरेको छ । हालै प्रकाशित वि.वि.एस. (BBS) चौथो वर्षको परीक्षाफलमा यस क्याम्पसका विद्यार्थीहरूले लुम्बिनी प्रदेशमै प्रथम र द्वितीय स्थान हात पार्दै शैक्षिक उत्कृष्टता प्रमाणित गरेको क्याम्पसले दाबी गरेको छ ।
सयपत्री क्याम्पसका प्रमुख बासुदेव घिमिरेका अनुसार यस क्याम्पसका विद्यार्थी सृष्टि सुवेदीले ८३.४ प्रतिशत अंक प्राप्त गर्दै प्रदेशमै प्रथम स्थान हासिल गरेकी छन् भने अर्का विद्यार्थी आशिष बेल्बासेले ८२.४ प्रतिशत अंकसहित द्वितीय स्थानमा स्थान बनाए । विद्यार्थी बेल्बासे यसअघि वि.वि.एस. प्रथम वर्षको परीक्षामा नेपालभर तृतीय स्थानमा परेका थिए ।
क्याम्पसका प्रमुख घिमिरेले यसअघि पनि क्याम्पसका विद्यार्थीले नेपालभर तृतीय स्थान ल्याएको स्मरण गर्दै प्रदेशस्तरमा प्रथम र द्वितीय हुनु नौलो नभएको बताए । उनले भने, “हाम्रो लक्ष्य अब राष्ट्रिय स्तरमै पहिलो बन्ने हो ।”
त्यस्तै, क्याम्पस व्यवस्थापन समिति अध्यक्ष राजेन्द्र प्रसाद ध्वजूले छोटो अवधिमा क्याम्पसले देखाएको शैक्षिक प्रगति प्रशंसनीय भएको उल्लेख गरे । उनले अनुभवी प्राध्यापक, विद्यार्थीमैत्री व्यवस्थापन र उत्कृष्ट शैक्षिक वातावरणकै कारण छोटो समयमा उल्लेखनीय सफलता हासिल गर्न सम्भव भएको बताए ।
उनका अनुसार आगामी दिनमा नयाँ शैक्षिक कार्यक्रम थप्ने र विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरमै प्रतिस्पर्धी बनाउन क्याम्पसले पहल गर्ने छ ।
२०७६ सालमा त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त सयपत्री क्याम्पसले व्याचलर अफ बिजनेस स्टडीज (BBS) कार्यक्रम सञ्चालन गर्दै आएको छ ।








