हिजोआज सामाजिक सञ्जालमा एक प्रहरी जवानले शक्ति (पावर) का विषयमा बोलेर बनाएको भिडियो भाइरल बनेको छ । प्रहरीको बर्दीमा उनले बनाएको भिडियो ३७ सेकेन्डको छ ।
‘जय नेपाल सत्य सुरक्षा सुरक्षणम, यो नेपाल प्रहरीको जागिर के हो ? यतिकासम्म दुःख गर्ने अनि पावर हुने फ्याट्टफ्याट्ट बढुवा हुने, फ्याट्टफ्याट्ट जहाँ भन्यो त्यहीँ सरुवा हुने । पावर नहुनेको चाहिँ केही पनि नहुने ? पावर नहुनेको केही पनि छैन ?,’ उनले प्रश्न गरेका छन् ।
उनी हुन् प्रहरी जवान माधवप्रसाद भुगाई । ‘म नेपाल प्रहरीको प्रहरी जवान माधवप्रसाद भुगाई । जिल्ला प्रहरी कार्यालय बाँकेमा कार्यरत छु । मैले चुस्तामै भिडियो बनाएको छु । मेरो जागिर खाने भए खाऊ । तर, यदि पावर हुनेले जागिर खाने हो भने पावर हुनेलाई नै जागिर खुवाऊ । हामीजस्तो गरिब दु:खीको जागिर हुन्न भने जागिर खानु छैन मलाई,’ उनले भिडियोमा भनेका छन् ।
पछिल्लो समय नेपाल प्रहरीमा तल्ला तहका जागिरेले जागिर छोड्ने क्रम बढेको छ । भुगाईको भनाइ सार्वजनिक भएपछि उनलाई प्रहरी नेतृत्वले निगरानीमा राखेको बताइएको छ ।








