गृहपृष्ठ Featured उखु किसानको मागप्रति सरकारको ध्यानाकर्षण

उखु किसानको मागप्रति सरकारको ध्यानाकर्षण

काठमाडौँ । 

सांसदहरूले उखु किसानको मागप्रति गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएका छन् । शुक्रबार बसको प्रतिनिधिसभा बैठकमा उनीहरुले सरकार गम्भीर नहुँदा उखु किसानहरू पटक पटक आन्दोलनमा उत्रिनु परेको भन्दै उखु किसानको मागप्रति गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

बैठकमा कांग्रेस सांसद एनपी साउदले नेपाल कृषिप्रधान देश भएपनि उखु किसानहरू अन्यायमा परिरहेको बताए । उनले सरकारबाट प्राप्त हुने अनुदान र बक्यौता नपाउँदा किसानहरू फेरि माइतीघरमा आन्दोलन गर्न बाध्य भएकाले छिटो भन्दा छिटो उनीहरुको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए ।

उनले २०६६ सालदेखि पटक–पटक आन्दोलन गर्दै आइरहेका उखु किसानहरू हरेक पटक आन्दोलनमा सरकारबाट समस्या समाधानको आश्वासन पाए पनि समस्या भने अझै समाधान नभएको उल्लेख गरे । सांसद साउदले राष्ट्रिय हित अनुकूल हुने गरी चिनीको आपूर्ति सन्तुलनका लागि सरकारले आवश्यक नीति अवलम्बन गर्नुपर्ने आवश्यकता रहेको बताए ।

त्यस्तै माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले बिगतको बक्यौता पनि नपाउने र यस वर्ष अनुदान पनि घटाउने सरकारको निर्णयले उखु किसान समस्यामा परेको भन्दै सरकारको ध्यानाकर्षण गराए । उखु किसानले पाउनुपर्ने गत वर्षकै एक अर्ब ५० करोड भन्दा बढी रकम सरकारले भुक्तानी नगरेको उनले बताए। उनले उखु किसानको माग सम्बोधन गर्न माग गरे ।

त्यस्तै एमाले सांसद अच्युत प्रसाद मैनालीले उखु किसानलाई उपलब्ध गराउँदै आएको अनुदान उपलब्ध गराउन र किसानहरूका माग दीर्घकालीन समाधान हुने गरि वार्ता गर्न माग गरे । गत आर्थिक बर्षको उखुको अनुदान भुक्तानीको माग गर्दै उखु किसानहरूले काठमाडौं केन्द्रीत आन्दोलन गरिरहेका छन् ।

सम्बन्धित् समाचार