गृहपृष्ठ Featured आँखामा राख्दा पनि नबिजाउने मृदुभाषी प्रमुख सजरुद्यिन मुसलमानको निधनले लुम्बिनी शोकमा

आँखामा राख्दा पनि नबिजाउने मृदुभाषी प्रमुख सजरुद्यिन मुसलमानको निधनले लुम्बिनी शोकमा

वैखरी अनलाइन, रूपन्देही ।
“आँखामा राख्दा पनि नबिजाउने मृदुभाषी नेता” भनेर चिनिएका लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर प्रमुख सजरुद्यिन मुसलमानको असामयिक निधनले लुम्बिनी क्षेत्रमा शोकमा डुबेको छ।

 

सानो स्वरमा, तर गहिरो आत्मीयतासहित साना ठूला सबैसँग बोल्ने उहाको शैली, विनम्रता र समस्या समाधान गर्ने क्षमताले उहाँलाई सबैको मनमा बसालिदिएको थियो।

 

आफ्नो पद वा शक्ति देखाएर होइन, मृदु बोली , सहज व्यवहार र इमानदार काम गर्ने तरिकाले उहाँले हजारौँ नागरिकको विश्वास जित्नुभएको थियो।

हृदयघातका कारण साउन १४ गते शनिबार बिहान उहाँले यो संसार छोड्दा, नगरपालिकादेखि जिल्लासम्म शोकको छायाँ छाएको छ।

 

उहाँको पार्थिव शरीर अन्तिम दर्शन गर्न हजारौँ जनता सडकमा उत्रिनु, उहाँप्रति जनताको प्रेम र सम्मानको प्रमाण बनेको छ।

नजिकबाट भेटिएका सेवाग्राहीहरू स्मरण गर्छन र भन्छन “नगरपालिकामा पुग्ने जो कोहीलाई उहाँले सधैं आत्मीय मुस्कानसहित स्वागत गर्नुहुन्थ्यो ।

 

समस्या ठूला सानो मात्र ढिलो चाडो भनेर फरक पार्नुहुन्नथ्यो । सकेसम्म तत्काल समाधान खोज्ने उहाँको शैली अनौठो र प्रेरणादायी थियो।”

लुम्बिनी सांस्कृतिक नगरपालिकाको नेतृत्वमा रहँदा उहाँले देखाउनुभएको कार्यशैली र इमानदार छवि नागरिकका मनमा अमर बन्न पुगेको छ। आज नगर प्रमुख मुसलमान हामीबीच नरहे पनि उहाँको आत्मीयता, सादगीपूर्ण जीवनशैली र सेवाभाव भने हरेक नागरिकको सम्झनामा जिउँदो रहनेछ।

 

यसबैबिच नगर प्रमुखको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै नगर उप–प्रमुख कल्पना हरिजनले परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्नु भएको छ ।

नगर कार्यपालिकाको कार्यालयको २०८२ साउन १४ गतेको निर्णयअनुसार नगर प्रमुखको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै लुम्बिनी सांस्कृतिक नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, मातहतका सम्पूर्ण कार्यालय, स्वास्थ्य संस्था (आवश्यक सेवा बाहेक) र सम्पूर्ण शैक्षिक संस्थामा २०८२ साउन १६ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय गरिएको छ।

यसैगरी, नगरपालिकाले शोकको प्रतीकस्वरूप २०८२ साउन १६, १७ र १८ गते तीन दिनसम्म सम्पूर्ण कार्यालयहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने जनाएको छ।

नगर प्रमुखको निधनले नगरपालिकामा ठूलो क्षति भएको भन्दै नगरपालिकाले दिवंगत आत्माको चिर शान्तिको कामना गरेको छ।

 

सम्बन्धित् समाचार