बुटवल ।
रूपन्देहीको बुटवल हुँदै पाल्पा जोड्ने राष्ट्रिय महत्त्वको सिद्धबाबा सुरुङमार्ग योजनामा ६०.४९ प्रतिशत भौतिक प्रगति भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभाग, गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले शनिबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार सुरुङमार्गमा हालसम्म ५१.१ प्रतिशत वित्तीय प्रगति भएको परियोजना प्रमुख कृष्णराज अधिकारीले जानकारी दिए ।
११८९ मिटर लम्बाइको मुख्य सुरुङमा उत्तरतर्फ ४७९ मिटर र दक्षिणतर्फ ६१० मिटर गरी कुल १०८९ मिटरको खुदाई सम्पन्न भएको उल्लेख छ । त्यस्तै, बाइपास १ (१५१ मिटर), बाइपास २ (१६१ मिटर) र बाइपास ३ (१३० मिटर)को खुदाई कार्य सम्पन्न भइसकेको छ ।
सुरुङभित्रको लाइनिङ कार्यअन्तर्गत मुख्य सुरुङमा १०४९.१ मिटर, बाइपास १ मा १२९.७ मिटर, बाइपास २ मा ३५.५ मिटर र बाइपास ३ मा १०४.२ मिटर लाइनिङ सम्पन्न भएको प्रतिवेदनमा जनाइएको छ ।
रूपन्देही–पाल्पा सडकखण्डमा पर्ने सिद्धबाबा क्षेत्रमा बर्सेनि हुने पहिरो र दुर्घटनाबाट जनधनको क्षति न्यूनीकरण गर्न सुरुङमार्ग निर्माण भइरहेको हो ।








