गृहपृष्ठ Featured महिला एकदिवसीय विश्वकपको विजेताले ६३ करोड रुपैयाँभन्दा धेरै पुरस्कार पाउने

महिला एकदिवसीय विश्वकपको विजेताले ६३ करोड रुपैयाँभन्दा धेरै पुरस्कार पाउने

काठमाण्डाै – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले महिला एकदिवसीय विश्वकपको पुरस्कार राशि सार्वजनिक गरेको छ । आईसीसीले आउँदो महिला विश्वकपका लागि पुरस्कार राशिमा चार गुणाले वृद्धि गरेको छ ।

आठ वटा टोली सहभागी प्रतियोगिताको कुल पुरस्कार राशि १ करोड ३८ लाख ८० हजार अमेरिकी डलर छ । यो रकम सन् २०२२ मा न्युजिल्यान्डमा आयोजित पछिल्लो संस्करणमा ३५ लाख डलरबाट २ सय ९७ प्रतिशतले उल्लेखनीय वृद्धि हो ।

प्रतियोगिताको विजेताले ४४ लाख ८० हजार डलर अर्थात् ६३ करोड रुपैयाँभन्दा धेरै पुरस्कार रकम पाउने भएका छन् । अघिल्लो संस्करणमा विजेताले १३ लाख २० हजार डलर पुरस्कार पाएका थिए ।

यस्तै यस पटक उपविजेताले २२ लाख ४० हजार डलर पुरस्कार पाउने भएका छन् । अघिल्लो संस्करणमा उपविजेताले ६ लाख डलर पुरस्कार पाएका थिए ।

यो पुरस्कार रकम गएको वर्ष भएको पुरुष एकदिवसीय विश्वकपको भन्दा धेरै हो । त्यस बेला विजेताले ४० लाख र उपविजेताले २० लाख डलर पाएको थियो । आईसीसीका अनुसार पुरस्कार रकममा वृद्धिको उद्देश्य महिला क्रिकेटको लोकप्रियता बढाउनु र पुरुष क्रिकेट जत्तिकै सम्मान दिनु हो ।

१३औं संस्करणको महिला एकदिवसीय विश्वकप आउँदो सेप्टेम्बर ३० देखि नोभेम्बर २ सम्म भारत र श्रीलङ्कामा आयोजना हुँदैछ । प्रतियोगितामा साविक विजेता अस्ट्रेलिया, बङ्गलादेश, इङ्ग्ल्यान्ड, भारत, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलङ्का सहभागी छन् ।

सम्बन्धित् समाचार