गृहपृष्ठ खबर ‘बाणगंगा कप २०८२’ क्रिकेट प्रतियोगिता सुरु : खान क्रिक्रेट क्लवको शानदार जित

‘बाणगंगा कप २०८२’ क्रिकेट प्रतियोगिता सुरु : खान क्रिक्रेट क्लवको शानदार जित

सागर वि.क., वैखरी अनलाईन ।

खेलकुदलाई प्रोत्साहन गर्ने उद्देश्यले कपिलवस्तुको बाणगंगामा बुधबारदेखि ‘बाणगंगा कप २०८२’ क्रिकेट प्रतियोगिता सुरु भएको छ । ९०’स वारियर्स क्रिकेट क्लबको आयोजनामा बाणगंगा नगरपालिका–४, जितपुरस्थित बुद्ध रंगशालामा प्रतियोगिता सुरु गरिएको हो ।

प्रतियोगिताको उद्घाटन बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले गर्नुभयो । उद्घाटन कार्यक्रममा मेयर अर्यालले नगरपालिकाले खेलकुदलाई प्राथमिकता दिंदै प्रत्येक वर्ष करिब ५० लाख रुपैयाँ बजेट विनियोजन गर्दै आएको जानकारी दिनुभयो । उहाँले खेलाडीलाई राष्ट्रको गहना भन्दै संरक्षण र विकास सबैको साझा दायित्व रहेको पनि बताउनुभयो ।

उद्घाटन खेलमा खान युवा क्रिकेट क्लबले जावेद–११ क्रिकेट क्लबलाई ११७ रनले पराजित गर्दै शानदार सुरुवात गरेको छ । खेल संयोजक विक्रम घिमिरेका अनुसार टस जितेर पहिले ब्याटिङ्ग गरेको खान युवा क्लबले निर्धारित १२ ओभरमा १४८ रनको विशाल योगफल खडा गरेको थियो । सो लक्ष्य पछ्याउन उत्रिएको जावेद क्लब ३१ रनमै अलआउट भएपछि खान युवा क्लब विजयी भएको हो ।

खान युवा क्लबका दुर्गेश यादवले ८३ रनको धमाकेदार इन्निङ खेल्दै ‘म्यान अफ द म्याच’ बन्न सफल भए । उनलाई बाणगंगा नगरपालिका–४ का वडाध्यक्ष छविलाल रेस्मी मगरले नगदसहितको पुरस्कार हस्तान्तरण गर्नुभयो ।

प्रतियोगिताको उद्घाटन कार्यक्रममा ९०’स वारियर्स क्रिकेट क्लबका उपाध्यक्ष नारायण पाण्डेको स्वागत मन्तव्य रहेको थियो । सो अवसरमा बाणगंगा नगरपालिकाका उपप्रमुख रिता कुमारी चौधरी, खेलकुद शाखा प्रमुख खिम बहादुर जिसी, उद्योग वाणिज्य संघका अध्यक्ष गणेश बहादुर क्षेत्रीसहित विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति थियो ।

५ हजार १११ रुपैयाँ प्रवेश शुल्क तोकिएको यस प्रतियोगितामा विजेताले नगद ५१ हजार १११ रुपैयाँ र उपविजेताले ३१ हजार १११ रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता आयोजना गर्न बाणगंगा स्पोर्ट्स क्लबले सहयोग गरेको आयोजक समितिले जनाएको छ ।

सम्बन्धित् समाचार