गृहपृष्ठ Featured भैरहवामा निर्माणाधीन सिद्धार्थ क्रिकेट मैदान निरीक्षण

भैरहवामा निर्माणाधीन सिद्धार्थ क्रिकेट मैदान निरीक्षण

रुपन्देही ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष ध्रुव आचार्यले रुपन्देहीको भैरहवामा निर्माणाधीन सिद्धार्थ क्रिकेट मैदानको निरीक्षण गरेका छन् ।

बुधबार उपाध्यक्ष आचार्यसहितको टोलीले मैदानको निरीक्षण गर्दै बहुवर्षीय ठेक्का लगाई निर्माण सम्पन्न गर्नुपर्नेमा जोड दिए । निरीक्षणपछि पत्रकारहरुसँग कुराकानी गर्दै उपाध्यक्ष आचार्यले रंगशाला निर्माणको काम पूरा गर्न राखेपले सबै सहयोग गर्ने प्रतिबद्धता जनाए ।

‘हामी सबैले हातेमालो गरेर यो रंगशाला निर्माण सक्नुपर्छ’, उनले भने, ‘बहुवर्षीय ठेक्का लगाउन सकियो भने चाँडै निर्माण सम्पन्न गर्न सकिन्छ ।’ उनले स्रोतको सुनिश्चितता गर्न विभागीय मन्त्रालय र अर्थमन्त्रालयसँग छलफल गर्ने बताए । गतहप्ता उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समेत रंगशालाको निरीक्षण गर्दै बजेट अभाव हुन नदिने प्रतिबद्धता जनाएका थिए ।

उपाध्यक्ष आचार्यले संघले रंगशाला निर्माण सक्न निरन्तर पहल गरिरहेको जनाउँदै आफूले पनि अर्थमन्त्रीसँग कुराकानी गरेर बहुबर्षीया ठेक्कामा लैजान पहल गर्ने बताए ।

राखेपले आवश्यक खेल पूर्वाधार र खेल सामग्री उपलब्ध गराउन कटिबद्ध रहेको उनले जनाए । रंगशाला स्तरोन्नतीका क्रममा केही जमिन अधिग्रहण गर्नुपर्ने रहेको बताउँदै यसका लागि पहल गर्ने उनको प्रतिबद्धता छ ।

सम्बन्धित् समाचार