काठमाडौँ — सत्तारुढ कांग्रेसका महामन्त्री गगन थापाले जेनजीको सोमबार भएको प्रदर्शनमाथि भएको घटनाको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने बताएका छन् ।
सोमबार बसेको पार्टी पदाधिकारी बैठकमा थापाले प्रधानमन्त्री ओलीले घटनाको जिम्मेवारी लिनुपर्ने बताएका हुन् । उनले कांग्रेस र एमालेको सरकार रहिराख्नुको औचित्य पनि समाप्त भएको बताएका छन् ।
थापाले जेन–जीको प्रदर्शनमाथि भएको सरकारी बल प्रयोगको कुनै पनि तवरले जायज मान्न नसकिने स्पष्ट पारेका छन् । ‘आजको घटनाको सबै जिम्मा प्रधानमन्त्रीले लिनुपर्छ । आज युवा पुस्ता (जेन–जी) ले गरेको शान्तिपूर्ण आन्दोलनमा जुन अवाञ्छित र हिंसात्मक गतिविधि भए त्यो दुःखद छ, अस्वभाविक छ ।
आन्दोलनलाई नियन्त्रण गर्ने नाममा सरकारले गरेको चरम दमन निन्दनीय र अक्षम्य छ,’ थापाले भनेका छन्, ‘कुनै पनि कोणबाट सरकारको यो शैली जायज हुन सक्दैन । सरकारको असंवेदनशीलता कै कारण आज अनाहकमा धेरै युवाले ज्यान गुमाउनु परेको यो हृदय विदारक घटनाले स्तब्ध बनाएको छ । आन्दोलनमा भएको बल प्रयोग, दमन र आक्रमणको नैतिक जिम्मा लिएर गृहमन्त्रीज्यूले राजीनामा दिनुभएको छ । यो समग्र परिस्थितिको जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्छ । तर योमात्र प्रायाप्त छैन ।’
थापाले वर्तमान गठबन्धन सरकारको औचित्य समाप्त भएको पनि बताएका छन् । ‘जनतालाई सुशासनको प्रत्याभूति दिने गरी दुई ठूला दल मिलेर बनाएको सरकारले त्यो नै गर्न नसकेका कारण यो गठबन्धनको सरकार रहिराख्नुको आवश्यकता रहेन । यो विषयमा नेपाली कांग्रेसले पुनर्विचार गर्नुपर्छ,’ उनले भने ।
युवाहरूले आन्दोलनमार्फत उठाएका विषय आम सरोकारका भएको पनि थापाको भनाइ छ । भ्रष्टाचारमा संलग्नमाथि छानबिन र कारबाही गर्नपर्ने विषय निरन्तर उठिरहेको बताउँदै उनले भनेका छन्, ‘यसको लागि संविधान संशोधन गर्नेदेखि भ्रष्टाचार निवारण ऐन र अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता कानुनलाई आवश्यक संशोधन गरेर द्रुत गतिमा काम गर्नुपर्छ ।
तत्काल भ्रष्टाचार नियन्त्रण, सुशासन लगायतका सन्दर्भमा, २०४६ सालपछि सार्वजनिक पद धारण गरेका व्यक्तिको सम्पत्ति छानबिन गर्न र सबै भ्रष्टाचारको काण्डको छानबिन गर्न आम नागरिकले भरोसा गरेको पूर्वप्रधानन्यायधीशको नेतृत्वमा उच्चस्तरीय आयोग गठन गरेर अनुसन्धानको प्रक्रिया अगाडि बढाउनुपर्छ ।’








