काठमाडौं — जेल, सुधारगृह तथा थुनुवाकक्ष तोडेर १४ हजार ४३ कैदीबन्दी र थुनुवा फरार भएकामा करिब ३ हजार पक्राउ परेका छन् । प्रहरीका करिब २ सय युनिटमा तोडफोड र आगजनी भएकामा उपत्यकाबाट मात्रै दुई दर्जन बढी हतियार लुटपाट भएका छन् ।
उपत्यका बाहिरका विभिन्न युनिटबाट ६ नाल एसएलआर, ४ नाल इन्सास, १८ नाल थ्री नट थ्री राइफल, ३ नाल सटगन, ४ नाल ग्यासगन र ७ नाल पेस्तोल लुटिएका छन् । प्रहरीका सञ्चार सेट, पोसाक र अन्य सुरक्षा सामग्री पनि लुटिएका छन् ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीले लुटिएका सुरक्षा बन्दोबस्ती एवं हतियार फिर्ता गर्न अपिल गरिसकेका छन् । त्यस्तै भागेका कैदीबन्दीलाई फिर्ता हुन आग्रह गरिएको छ । तर, अझै पनि ११ हजारभन्दा बढी कैदीबन्दी फरार छन् ।
भ्रष्टाचार नियन्त्रण, सुशासन कायम र बन्द सामाजिक सञ्जाल सुचारु गर्नुपर्नेलगायत माग राखेर ‘जेन–जी’ समूहले राज्यलाई खबरदारी गर्न आह्वान गरेको प्रदर्शन भड्किए पछि निम्तिएको हिंसामा अकल्पनीय जनधनको क्षति भएको छ ।
आन्दोलनका क्रममा हालसम्म ५२ जनाले ज्यान गुमाएका छन् । सयौं व्यक्ति घाइते भएका छन् । राष्ट्रपति भवन शीतलनिवास, प्रधानमन्त्री निवास बालुवाटार, मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, सर्वोच्च न्यायालय, संघीय संसद्का भौतिक संरचना खरानी बनेका छन् ।
अरू सरकारी, सार्वजनिक र व्यक्तिका सम्पत्तिमा विध्वंस मच्चाइएको छ । हजारौं व्यक्तिलाई रोजगारी दिएका औद्योगिक प्रतिष्ठानहरू जलेका छन् । राज्यका महत्त्वपूर्ण तथा ऐतिहासिक दस्ताबेजहरू जलेर खरानी भएका छन् ।








