गृहपृष्ठ Featured आन्दोलनमा लुटिएका सामान किने-बेचे कारबाही हुने

आन्दोलनमा लुटिएका सामान किने-बेचे कारबाही हुने

जेन-जी आन्दोलनका क्रममा भएको लुटपाटका सामानहरू बजारमा बिक्री-वितरण भइरहेको सूचना आएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले त्यस्ता सामान खरिद-बिक्री नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

ब्यूरोले चोरी तथा लुटपाट भएका सामान किन्ने, बेच्ने वा सञ्चय गर्ने व्यक्तिलाई प्रचलित कानुनअनुसार कारबाही हुने चेतावनीसमेत दिएको छ।

ब्यूरोले आइतबार एक सार्वजनिक सूचना जारी गर्दै गत भदौ २३ र २४ गते भएको प्रदर्शनको क्रममा सरकारी तथा निजी भवन, व्यापारिक भवन, बैंक, वित्तीय संस्था लगायतका संरचनाहरूबाट कागजपत्र, ऐतिहासिक दस्तावेज, बहुमूल्य वस्तु, हातहतियार र नगद समेत लुटपाट भएको जनाएको छ।

‘लुटपाट गरिएका सामानहरू विभिन्न माध्यमबाट बजारमा बिक्री-वितरण भइरहेको भन्ने सूचना प्राप्त भएको हुँदा सो सम्बन्धमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट अनुसन्धान भइरहेको छ,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘त्यस्ता सरसामानहरूको खरिद तथा बिक्री नगर्न नगराउन हुन अनुरोध गर्दछौं।’

ब्यूरोले यस्ता कुनै जानकारी वा सामानहरू कसैले फेला पारेमा नजिकको सुरक्षा निकायमा खबर गर्न वा बुझाइदिन समेत अनुरोध गरेको छ।

सम्बन्धित् समाचार