कपिलवस्तु ।
भारतबाट अवैध रूपमा ल्याइएका करिब १ हजार ५ सय कुखुराका चल्ला कपिलवस्तुको विजयनगरमा नष्ट गरिएको छ । इलाका प्रहरी कार्यालय गणेशपुरले आइतबार बिहान सुराकीका आधारमा छापा मार्दै ती चल्ला बरामद गरेको हो ।
विजयनगर गाउँपालिका-५ का दिनेश चौधरीले आफ्नै खोरमा लुकाइ राखेको अवस्थामा १५ कार्टुन (७५ हजार रुपैयाँ बराबर) ब्राेइलर चल्ला फेला परेको प्रहरीले जनाएको छ । बरामद गरिएका चल्ला स्थानीय जनप्रतिनिधि, पशु क्वारेन्टाइन र सञ्चारकर्मीहरूको उपस्थितिमा मुचुल्का उठाई नष्ट गरिएको हो ।
आवश्यक प्रक्रिया पूरा गरी कृष्णनगर क्वारेन्टाइनमा बुझाइएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक हर्षबहादुर चन्दले जानकारी दिनुभयो । भारतबाट कुखुराका चल्ला ल्याउन प्रतिबन्ध रहेको भए पनि सस्तो मूल्यमा पाइने भएकोले अवैध रूपमा ल्याउने गरिन्छ ।







