आन्दोलनमा ज्यान गुमाउनेलाई प्रचलनबमोजिम १० लाख क्षतिपूर्ति र ५ लाख खर्चसहित १५ लाख रुपैयाँ दिने निर्णय भएको अर्यालले जानकारी दिए।
आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ। त्यस्तै, दाहसंस्कारमा सघाउने र आवश्यक परे गाडी वा हेलिकप्टरबाट शव सम्बन्धित ठाउँसम्म पुर्याउन सघाउने निर्णय पनि क्याबिनेट बैठकले गरेको छ।
आन्दोलनमा ज्यान गुमाउने जेन–जीहरूको सम्झनामा जेनजी स्मारक बनाउने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ।
यस्तै, भ्रष्टाचारविरुद्ध आयोग बनाउने विषयमा मन्त्री अर्यालले पहिले नै अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रलगायतका निकाय भएकोले अब कसरी अगाडि बढ्ने भन्ने विषयमा अन्यौल देखिएको र यसबारे पछि थप छलफल हुने बताए।
अन्तरिम सरकारकी प्रधानमन्त्रीमा सुशीला कार्की शुक्रबार नियुक्त भएकी थिइन्। त्यस्तै, सोमबार तीन मन्त्रीहरू रामेश्वर खनाल अर्थ, कुलमान गुरुङ ऊर्जा र ओमप्रकाश अर्यालले कानुन तथा गृह मन्त्रालयमा नेतृत्व पाएका थिए।
सोमबार साँझ मन्त्रिपरिषद्को पहिलो बैठक प्रधानमन्त्री कार्यालयमा बसेको हो।