विश्वकप विजेता फ्रान्सका डिफेन्डर सामुएल उम्टिटीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् ।
सामुएलले १५ वर्षको व्यावसायिक फुटबल करिअरबाट सन्न्यास लिएको मंगलबार जानकारी दिएका छन् । सन् २०१८ मा फ्रान्सले फिफा विश्वकप जित्दा उनले डिफेन्समा उत्कृष्ट प्रदर्शन गरेका थिए ।
गत सिजन फ्रान्सेली लिग क्लब लिल छोडेपछि सामुएल क्लबविहीन छन् । एक वर्षको अवधिमा कुनै पनि क्लबले सम्झौता नगरेका कारण उनले करिअर नै समाप्त गरेको जनाएका छन् । ‘मेरो करिअरमा धेरै उतारचढावले भरिएको थियो । अब फुटबलबाट बिदा हुने समय आएको छ,’ सामुएलले सोसल मिडियामा भनेका छन्, ‘मैले डेढ दशक मिहिनेत र सम्पूर्ण जोशका साथ खेलेँ । सन्न्यासको घोषणा गर्दा मलाई कुनै पश्चात्ताप छैन ।’
सन् २०१० मा फ्रेन्च क्लब लियोनको दोस्रो टोलीबाट सामुएलले व्यावसायिक करिअर सुरु गरेका थिए । छोटो समयमै सिनियर टोलीका लागि डेब्यु गरेको उनले विश्वकप जित्दासम्म खासै उतारचढावको सामना गर्नुपरेन । फ्रान्सका प्रशिक्षक डिडिएर डेसच्याम्प्सले सामुएलको योगदानलाई कदर गरेका छन् । ‘युरो २०१६ बाट राष्ट्रिय टोलीमा प्रवेश गरेका सामुएलले २०१८ विश्वकप जित्न महŒवपूर्ण भूमिका निर्वाह गरेका थिए,’ प्रशिक्षक डिडिएरले भने, ‘विशेष गरी बेल्जियमविरुद्धको निर्णायक गोल सबैले सम्झिरहनेछन् ।’
प्रशिक्षक डिडिएरले पूर्वराष्ट्रिय टोलीका डिफेन्डर सामुएलको अन्तिम क्षणसम्म साहसिक प्रदर्शन गर्ने खेलाडी भएको बताए ।








