गृहपृष्ठ Featured लुम्बिनी विकास कोष र लुम्बिनी केबलकारबीच पर्यटन प्रवर्द्धनका लागि सम्झौता

लुम्बिनी विकास कोष र लुम्बिनी केबलकारबीच पर्यटन प्रवर्द्धनका लागि सम्झौता

रूपन्देही ।

लुम्बिनी विकास कोष र लुम्बिनी केबलकार लि. बीच पर्यटन प्रवर्द्धनका लागि सम्झौता भएको छ । सम्झौता पत्रमा लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य र लुम्बिनी केबलकारका अपरेसन म्यानेजसर डिएन कायस्थले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार लुम्बिनी भ्रमणमा आउने स्वदेशी तथा विदेशी अति विशिष्ट पाहुना (भीभीआईपी) लाई लुम्बिनी केबलकार यात्रामार्फत वसन्तपुर हिल स्टेशन भ्रमण र कामाख्या मन्दिरको दर्शन गराउने भएको छ ।

यस्तै लुम्बिनी विकास कोषका पदाधिकारी, कर्मचारी र लुम्बिनी घुम्न आएका पर्यटकलाई केबलकारको टिकट दरमा २० प्रतिशत छुट दिने सम्झौता भएको छ । छुट सुविधाका लागि पदाधिकारी र कर्मचारीले अद्यावधिक परिचयपत्र तथा पर्यटकले लुम्बिनी भ्रमणका लागि काटेको टिकट देखाउनुपर्ने छ । हाल केबलकारको टिकट दर रु ७५० प्रतिव्यक्ति रहेको छ ।

सो अवसरमा बोल्दै लुम्बिनी विकास कोषका सदस्य सचिव शाक्यले लुम्बिनी केबलकारसंगको सम्झौताले दुवै ठाउँको पर्यटन प्रवर्द्धनमा सकारात्मक भूमिका खेल्ने बताए । उनले लुम्बिनी भ्रमणमा आउने स्वदेशी र विदेशी पर्यटकको बसाई लम्ब्याउन लुम्बिनी केबलकार हुँदै वसन्तपुर यात्रा गराउन आवश्यक रहेको बताए ।

सम्बन्धित् समाचार