सरकारले अध्यादेशमार्फत् फागुन २१ गतेका लागि घोषणा गरिएको प्रतिनिधि सभाको निर्वाचनका लागि मतदाता नामावली संकलनको गाँठो फुकाउने भएको छ।
मतदाता नामावली ऐनले निर्वाचनको मिति घोषणापछि मतदाता नामावली संकलन गर्न प्रतिबन्ध लगाएको छ।
सरकारले सो कानुनमा भएको व्यवस्थालाई अध्यादेश मार्फत् हटाएर केही समय मतदाता नामावली संकलनका लागि समय छुट्याउन लागेको हो।
आयोगले मतदाता नामावली संकलनका लागि कानुनी अप्ठ्यारो रहेको गृहमन्त्री ओमप्रकाश अर्याललाई जानकारी दिइसकेको छ।
गृहमन्त्री अर्यालले आयोगका आयुक्तहरूसँगको भेटमा नामावली संकलनका लागि अप्ठ्यारो फुकाउने बताइसकेका छन्।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले गृहमन्त्री अर्यालसँग आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी सहित भेटवार्ता भएको बताए।








